श्रम संस्कृति पार्टीद्वारा झापामा कार्यकर्ता प्रशिक्षण अभियान तीव्र

0
20

झिलझिली,

आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीले झापामा संगठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानलाई तीव्र बनाएको छ।

निर्वाचनमा अपेक्षाभन्दा उत्साहजनक मत प्राप्त गरेपछि पार्टी अब परिणाममुखी कार्यक्रममार्फत स्थानीय तहमा प्रभाव विस्तार गर्ने रणनीतिमा देखिएको छ। यसै अभियानअन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित वाटर किंगडम पार्कमा एकदिने नेतृत्व विकास तथा अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ। जिल्लामै पहिलोपटक आयोजना गरिएको बताइएको उक्त कार्यक्रममा स्थानीय तहका श्रमदाता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

तालिममा कार्यकर्ताको व्यक्तिगत जीवनशैली, राजनीतिक सोच, जनसम्पर्क शैली र पार्टीका नीति तथा कार्यक्रमबारे विस्तृत जानकारी दिइएको थियो। पार्टी उपाध्यक्ष मिलन राईका अनुसार कार्यक्रममा १५३ जना सहभागी भएका थिए। सहजीकरण शान्ति पाख्रिनले गर्दै पार्टीको अवधारणा, कार्ययोजना, कार्यकर्ताको आचरण तथा जनतासँगको व्यवहारबारे प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै झापा–४ की प्रतिनिधिसभा सदस्य उम्मेदवार अमृता देवी राईले छोटो समयमै पार्टी राष्ट्रिय रूपमा स्थापित हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। निर्वाचनमा पराजय भए पनि प्राप्त मतले पार्टीप्रति जनताको विश्वास बढेको संकेत गरेको उनको भनाइ थियो। अब आगामी स्थानीय तह निर्वाचनमा झापाका धेरै पालिका र वडामा पार्टीको नेतृत्व स्थापित गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारिन्।

शिवसताक्षी नगर अध्यक्ष नरवीर फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला, जिल्ला अध्यक्ष केशव भण्डारीलगायतले पनि मन्तव्य राखेका थिए। कार्यक्रमको स्वागत नगर सचिव सन्तोष थेगिमले गरेका थिए।

श्रम संस्कृति पार्टीले अब जिल्लाभर यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ, जसलाई आगामी निर्वाचनको तयारीका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here