बिर्तामोड इलाका प्रहरीको हिरासतमा अग्रवाल कुटपिट प्रकरणमा ‘हेल्लो सरकार’ को चासो

0
3

झापा ।

बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवालमाथि हिरासत कक्षमै कुटपिट भएको घटनामा ‘हेल्लो सरकार’ले चासो देखाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित ‘हेल्लो सरकार’ मा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । घटनाबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएसँगै सम्बन्धित निकायले पीडित अग्रवालसँग बयान लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा बोलाएर अग्रवालसँग घटनाको वास्तविकता बुझ्दै प्रारम्भिक प्रतिवेदन तयार गरिएको जनाइएको छ ।

अग्रवालसँग सोमवार बयान लिइएको हो । शनिवार इलाका प्रहरी कार्यालय परिसरमा अग्रवाललाई बोलाएर प्रहरीले खाली कागजमा हस्ताक्षर गर्न भनेपछि उनी हस्ताक्षर नगरी निस्किएको बताएका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीका वरिष्ठ प्रहरी नायव निरीक्षक देवराज निरौलाले खाली कागजमा हस्ताक्षर गर्न लगाएको अग्रवालको भनाइ छ ।

तर, आफूले खाली कागजमा हस्ताक्षर नगर्ने र लेखेको बिषय अध्ययन गरेपछि मात्रै हस्ताक्षर गर्ने बताउँदै आफू इलाका प्रहरी कार्यालयबाट वाहिरिएको उनको भनाइ छ ।

तर, पुन सोमवार अग्रवाललाई प्रहरीले बोलाएपछि उनी बिर्तामोडका व्यवसायी तथा सामाजिक अगुवासहित इलाका प्रहरी कार्यालय पुगेका थिए र घटनाको वास्तविकता प्रहरी समक्ष भन्दै प्रतिवेदन तयार गर्न सहयोग गरेको बताइएको छ । सार्वजनिक निकायका कामकारबाही सम्बन्धी गुनासो, जिज्ञासा तथा सुझाव दिन सकिने व्यवस्था अन्तर्गत उक्त प्रकरण ‘हेल्लो सरकार’ मा दर्ता भएको हो ।

उजुरीपछि छानबिनमा तदारुकता देखाउँदै पीडितसँग विस्तृत बयान लिएको बताइएको छ । प्रहरीले लिएको लिखित बयानमा अग्रवालले आफूलाई बिना कारण पक्राउ गरी हिरासतमा राखेर कुटपिट तथा यातना दिएको उल्लेख गरेका छन् ।

उनले अदालतमा बिचाराधीन मुद्दामा साक्षी बसेकै कारण आफूमाथि यस्तो व्यवहार भएको दाबी गरेका छन् । बिर्तामोड नगरपालिका–५ निवासी अग्रवाललाई इलाका प्रहरी कार्यालय अनारमनीले गत शनिबार नियन्त्रणमा लिएको थियो । झापा जिल्ला अदालतमा दर्ता ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा उनी साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति–२का प्रज्ज्वल कार्कीले कनकाई–२,
सुरुङ्गाका निर्मल श्रेष्ठबिरुद्ध दायर गरेका थिए ।

घटना अनुसार, शनिबार बिर्तामोडस्थित अतिथि सदनमा श्रेष्ठ पक्षका केही व्यक्तिले अग्रवाललाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गरेको बताइएको छ । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाएको बताइएको छ । तर, अनुसन्धान नगरी प्रहरीले प्रभावमा परेर अग्रवाललाई नै पक्राउ गरी हिरासतमा राखेको आरोप लागेको छ । उक्त विवादको जडमा बिदेश पठाउने नाममा भएको ठगी प्रकरण रहेको बताइएको छ ।

बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश संग्रौला र सुरुङ्गाका निर्मल श्रेष्ठले युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै बिद्यार्थीहरूबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ । रकम संकलनपछि संग्रौला सम्पर्कविहीन भएको र त्यसपछि विवाद चर्किएको बताइएको छ ।

अग्रवालले हिरासतभित्रै कुटपिट भएको जानकारी दिएपछि प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको उपस्थितिमा सीसीटीभी फुटेज जाँच गरिएको थियो । सो क्रममा कुटपिट भएको दृश्य देखिएपछि उनलाई छुट्टै कक्षमा राखिएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्नमध्ये एक जनामाथि बिभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ भने अर्का एक जनालाई निलम्बन गर्ने तयारी गरिएको छ । घटना सार्वजनिक भएपछि प्रहरीको चौतर्फी आलोचना भएको थियो । त्यसपछि अग्रवाललाई तत्काल रिहा गरिएको जनाइएको छ ।

हाल उनी दैनिक तारिखमा रिहा भइसकेका छन् । अग्रवालले हिरासत कक्षमा आफूमाथि कुटपिट भएको घटना सार्वजनिक गरेसंगै अन्य पीडितले समेत प्रहरी कार्यालय भित्र हुने यातनाको विषयमा सार्वजनिक गर्न शुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here