मेचीनगर,

मेची उद्योग बाणिज्य संघको चुनाव आगामी बैशाख अन्तिम हप्तामा हुने भएको छ ।
मेची उद्योग बाणिज्य संघको सोमबार बसेको कार्यसमितिको वैठकले आगामी बैशाख २६ गते चुनाव गर्ने निर्णय गरेको हो । संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले हिजो बसेको ३५ औं वैठकले आगामी बैशाख १९ गते साधारण सभा र २६ गते निर्वाचन गरिने बताए ।
साधारण सभा र चुनाव धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान (टाउन हल) मा हुने छ । संघको सदस्यता नविकरण म्याद पनि बढाएको छ । यसअघि नविकरणको समय बैशाख ७ गतेलाई थियो । बैशाख ११ गते सम्मलाई म्याद थप गरिएको उनको भनाई छ ।
चुनावमा उम्मेदवार बन्न वा भोट हाल्न सदस्यता नविकरण अनिवार्य गरेको हुनु पर्ने छ । ३ वर्षे कार्यकालका लागि १६ जनाको नयाँ कार्यसमिति बन्ने छ ।
जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष (उद्योग, बाणिज्य र महिलासमेत), महासचिव र १० जना सदस्य गरी जम्मा १६ जनाको कार्यसमिति रहने छ ।































