इनरुवाको ग्रीन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

0
5

योगेन्द्र योगी
इनरुवा (सुनसरी),

देशभक्ति, एकता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीन सिटी क्षेत्रमा मंगलबार २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा भव्य रूपमा फहराइएको छ।

श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको छैटौं दिनको विशेष अवसर पारेर आयोजित कार्यक्रममा स्थानीयबासी, धर्मप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम आवास विकास संघ नेपालका अध्यक्ष विष्णु प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। झण्डोत्तोलनको क्षणमा राष्ट्रिय गीतको धुनसँगै उपस्थित जनसमुदाय भावुक बनेका थिए भने ग्रीन सिटी क्षेत्र देशप्रेमको उत्साहले भरिएको देखिन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले २१० फिट अग्लो राष्ट्रिय झण्डा केवल संरचना मात्र नभई नेपालीहरूको आत्मसम्मान, एकता र स्वाभिमानको प्रतीक भएको बताए। “यो झण्डा हाम्रो इतिहास, हाम्रो बलिदान र हाम्रो पहिचानको प्रतिनिधित्व हो। यसलाई यति भव्य रूपमा स्थापना गर्नु भनेको भावी पुस्तालाई देशप्रेमको सन्देश दिनु हो,” उनले भने। उनले यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेले ग्रीन सिटीलाई केवल आवासीय क्षेत्र मात्र नभई सांस्कृतिक, धार्मिक र राष्ट्रिय चेतनाको केन्द्र बनाउने लक्ष्यका साथ यस्तो कार्य गरिएको बताए। “हामीले निर्माण गरेको यो २१० फिट अग्लो राष्ट्रिय झण्डा केवल संरचना होइन, यो हाम्रो आत्माको आवाज हो। हरेक नेपालीको मुटुमा देशप्रेम जागृत गराउने उद्देश्यले यो अभियान अघि बढाइएको हो,” उनले भावुक हुँदै भने। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा राष्ट्रप्रेमी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रीन सिटीका सञ्चालक नेत्र प्रसाद चौलागाईले ग्रीन सिटी क्षेत्रलाई धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। “यो झण्डा हाम्रो पहिचान हो, हाम्रो गौरव हो। हामीले यसलाई केवल देखावटी रूपमा होइन, भावनात्मक रूपमा स्थापित गरेका छौं,” उनले भने। साथै उनले महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे।

झण्डा स्थापना कार्य डीएन ग्रुप अफ कम्पनीको सहकार्यमा सम्पन्न भएको हो। २१० फिट अग्लो झण्डा टाढा–टाढाबाट समेत देख्न सकिने भएकाले यसले इनरुवाको पहिचानलाई थप उचाइ दिने अपेक्षा गरिएको छ। स्थानीयबासीहरूले यसलाई क्षेत्रकै गौरवको रूपमा लिएका छन्।

कार्यक्रममा धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा प्रवचनसमेत सञ्चालन गरिएको थियो। महायज्ञमा सहभागी श्रद्धालुहरूले झण्डोत्तोलनलाई ऐतिहासिक क्षणका रूपमा लिँदै देशप्रेम र एकताको भावना अझ प्रगाढ बनाएको बताएका छन्।

ग्रीन सिटीमा फहराइएको यो २१० फिट अग्लो राष्ट्रिय झण्डाले अब इनरुवालाई नयाँ पहिचान दिने मात्र होइन, देशप्रेमको सन्देश फैलाउने एक प्रेरणादायी केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here