काठमाडौँ, प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै गर्दा संघीय संसद् भवनमा यसपटक अधिकांश नयाँ अनुहारको उपस्थिति रहने भएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये ठूलो संख्या पहिलोपटक सदनमा प्रवेश गर्न लागेका हुन् । सीमित दलका केही अनुभवी नेताबाहेक धेरैजसो सांसद नयाँ अनुहारका रूपमा देखिने भएका छन् ।
यसपटकको निर्वाचनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ठूलो शक्ति दिएको छ । सो पार्टीबाट निर्वाचित १८२ सांसदमध्ये १४ जना मात्र पुनः निर्वाचित भएका छन् । पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेसहित केही सीमित नेतामात्रै यसअघि पनि सदनमा प्रतिनिधित्व गरिसकेका थिए ।
यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित ३८ सांसदमध्ये आठ जना पुनः निर्वाचित भएका छन् । अर्जुननरसिंह केसी लगायतका केही अनुभवी नेताहरू मात्रै दोहोरिएका छन् ।
नेकपा एमालेका २५ निर्वाचित सांसदमध्ये पनि सात जना मात्रै पुनः निर्वाचित भएका छन् । रामबहादुर थापा बादल र पद्मा अर्यालजस्ता नेताहरू पुनः सदनमा देखिनेछन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका १७ निर्वाचित सांसदमध्ये पाँच जना मात्रै दोहोरिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित केही शीर्ष नेताहरू पुनः निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित पाँच सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह मात्र पुनः निर्वाचित भएका छन् ।
यसपटकको निर्वाचनले प्रतिनिधिसभामा पुस्तान्तरणको संकेत दिएको विश्लेषण गरिएको छ । नयाँ अनुहारको बहुलतासँगै सदनको कार्यशैली, प्राथमिकता र बहसको स्वरूपमा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ ।































