धराशायीबाट पुनरुत्थानतर्फ वाटर किंगडम पार्क, नयाँ रणनीतिसहित पुनः सञ्चालनमा

0
2

झापा । झापाको शिवसताक्षी–स्थित झिलझिलेमा करिब एक दशकअघि ठूलो लगानीमा निर्माण गरिएको वाटर किंगडम पार्क अहिले पुनः आफ्नै बलबुतामा तंग्रिने प्रयासमा जुटेको छ ।

करिब ६७ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यो परियोजना प्रारम्भमा उच्च अपेक्षासहित सञ्चालनमा आएको थियो । तर बैंक तथा वित्तीय संस्थाको असहयोग, कमजोर प्रचार–प्रसार र COVID-19 महामारीको गम्भीर प्रभावका कारण बीचमै संकटमा परेको थियो । अहिले भने नयाँ सोच, रणनीति र स्थानीय सहकार्यका साथ पार्कलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ ।

तीन बिघा क्षेत्रफलमा फैलिएको पार्कमा सातवटा भूकम्प प्रतिरोधात्मक भवन, ३५ वटा डिलक्स कोठासहित दुई सुविधा सम्पन्न भवन, १५० देखि ४०० जनासम्म अट्ने चार प्रिमियर हल निर्माण गरिएका छन् । त्यस्तै मिनी ओलम्पिक स्तरको स्विमिङ पुल, ५० मिटर लामो एड्भेन्चर स्लाइड, पाँच प्रकारका स्लाइड, किड्स पुल, वेभ पुल, जिपलाइन, गुफा र मूर्तिकलात्मक संरचनाले यसलाई बहुआयामिक पर्यटकीय गन्तव्य बनाउने आधार तयार पारेका छन् । भारतसँगको सीमाबाट करिब २५ किलोमिटर दूरीमा रहेको पार्कले आन्तरिकसँगै भारतीय पर्यटकलाई लक्षित गरेको छ ।

पार्कका सञ्चालक राजकुमार संग्रौलाका अनुसार प्रारम्भिक चरणमा बैंकहरूले कर्जा प्रवाह गरे पनि निर्माणको ७५ प्रतिशत काम सकिएपछि लगानी रोकिनु, उच्च ब्याजदर र सम्पत्तिको न्यून मूल्याङ्कनले परियोजना संकटमा परेको थियो । कोरोना महामारीका बेला लामो समय कारोबार ठप्प भए पनि पूर्ण रूपमा बन्द नगरी सञ्चालनलाई निरन्तरता दिइनु अहिलेको पुनरुत्थानको आधार बनेको उनको भनाइ छ ।

२०७८ वैशाख १ गते एकै दिन ३६ लाख रुपैयाँको कारोबार भएको अनुभवले यसको सम्भावना देखाए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा बजार विस्तार हुन नसकेको सञ्चालक स्वीकार गर्छन् । अहिले सामाजिक सञ्जालमार्फत डिजिटल प्रचारलाई तीव्र बनाउने योजना अघि सारिएको छ । साथै, विवाह, सेमिनार तथा कर्पोरेट कार्यक्रम लक्षित इभेन्ट व्यवस्थापनतर्फ पनि पार्कले ध्यान दिएको छ ।

सर्वसुलभ शुल्कसहित पार्कले १०० रुपैयाँ प्रवेश र ४०० रुपैयाँमा सम्पूर्ण वाटर गतिविधि उपभोग गर्न सकिने व्यवस्था गरेको छ । यस प्याकेजमा खानाका परिकारसमेत समेटिएको छ । चैत महिनामा मात्रै ७२५ आन्तरिक पर्यटकले सेवा लिएको तथ्यले पुनरुत्थानको संकेत देखिएको व्यवस्थापनले जनाएको छ ।

आगन्तुकहरूका अनुसार पार्कको भौतिक संरचना र सेवा अपेक्षाभन्दा राम्रो रहेको छ । जिपलाइन, गुफा, सजावटी संरचना तथा गौतम बुद्धको प्रतिमाले आकर्षण थपेको उनीहरूको अनुभव छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले पार्क पूर्ण रूपमा सञ्चालनमा आए क्षेत्रीय आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । निजी लगानीले रोजगारी सिर्जना गर्दै सहायक व्यवसायलाई समेत चलायमान बनाउने उनको धारणा छ ।

यसैबीच, कर्जा भुक्तानी नियमित नहुँदा गरिमा विकास बैंकले सञ्चालकलाई कालोसूचीमा राखेको थियो । तर, राष्ट्र राष्ट्रियता धर्म तथा नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंले परियोजनालाई नजिकबाट नियाल्दै बैंक र व्यवसायीबीच सहमति गराई कालोसूची फुकुवा गराउने पहल भइरहेको बताएका छन् ।

सञ्चालक संग्रौलाले आगामी २०८३ वैशाखमा मात्रै तीन करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य लिएको जानकारी दिँदै सरकारी नीति, बजार प्रवर्द्धन र स्थानीय सहकार्य मिलेको खण्डमा यो परियोजनाले झापाको पर्यटन क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे ।

विगतका चुनौती पार गर्दै पुनः उठ्न खोजिरहेको वाटर किंगडम पार्क अब केवल मनोरञ्जन केन्द्रमा सीमित नरही क्षेत्रीय आर्थिक विकासको आधार बन्ने सम्भावना बोकेको परियोजनाका रूपमा पुनः स्थापित हुन खोजिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here