नेपालको इतिहासमा २०८२ साल एउटा स्मरण गर्ने मात्र नभएर परिवर्तनको नयाँ बिहानी लिएर आयो । २०८२ सालको भदौ २३ गते जेन–जी पुस्ताका किशोरकिशोरी र युवाहरू व्याप्त भ्रष्टाचार, नातावाद÷कृपावाद र सामाजिक न्यायका लागि आवाज बुलन्द गर्न शान्तिपूर्ण रूपले सडकमा उत्रिएका थिए । उनीहरू देशका हरेक क्षेत्रबाट सडकमा निस्किए । काठमाडौंका सडकहरू र सिंहदरवार अगाडि उनीहरूको बाक्लो उपस्थति भयो । भीडले निषेधित क्षेत्रको समेत पर्वाह गरेन । निशस्त्र र शान्तिपूर्ण प्रदर्शनमा निस्केका झोला बोकेका विद्यार्थी माथि प्रहरीको व्यापक दमन भयो । एकैछिनमा राजधानीमा १९ जना युवाहरुले सहादत प्राप्त गरे । सरकारले यो अत्यन्त नाजायज काम ग¥यो । त्यो बेला देशका ठूला भनिएका नेपाली कांग्रेस र नेकपा एमालेको खड्गप्रसाद शर्मा ओली नेतृत्वको गठबन्धनको सरकार थियो ।
प्रदर्शनकारीहरू माथि गरिएको हत्या र दमनको प्रतिशोधमा देशव्यापी आक्रोश सुन्न थालियो । सरकारले वार्तामा बोलाउने कार्य समेत गर्न सकेन । रात बित्यो अग्राठ पलायो भने झैं भयो । २४ गते देशका संवेदनशिल क्षेत्र र भवनहरूमा आगजनी भयो । उत्तेजित भीडद्वारा सिंहदरवार, सांसद भवन, सर्वोच्च अदालत जस्ता धरोहरहरुमा तोडफोड र आगजनी भयो । देशका प्रायः सबै पालिका, वडा कार्यालयहरुमा समेत आगजनी भयो । खास गरेर सत्तारुढ दलका नेता कार्यकर्ताहरुका निजी घर तथा केही व्यापारिक भवन, होटल र केही विद्यालय समेत निशानामा परे । कतिपय विश्लेषकहरू २३ र २४ गतेका घटना मात्र फरक होइन प्रकृति र उद्देश्य समेत फरक रहेको बताउँछन् । खास गरेर नेतृत्वविहीन जेन–जी विद्रोहको कारण त्यसको जिम्मा लिने कोही भएन । कसैले नसोचेको र कल्पना नगरेको अघिल्लो दिनको युवा हत्या र भोलिपल्टको विध्वंसात्मक घटनाले मानिसहरूमा त्रास र भय उत्पन्न भयो । राज्य प्रमुख तीन अङ्ग न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाविहीन बन्न पुग्यो । नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिएपछि जनजीवन बिस्तारै सुचारु भयो । लामो समयदेखि एउटै अनुहारका नेतृत्व, भ्रष्टाचार, नातावाद, वेरोजगारीका कारण आमजनमानस अत्यन्तै आक्रोशित रहेको सत्य समेत नकार्न मिल्दैन ।
आन्दोलनकारीका विभिन्न समूहसँगको वार्तापछि संघीय संसद प्रतनिधिसभा भङ्ग गरियो । पूर्व प्रधान न्यायाधिश शुशिला कार्कीको नेतृत्वमा स्वतन्त्र गैर दलीय सरकार गठन भई छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी जिम्मेवारी तोकियो । २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरियो । दलहरू बिस्तारै निर्वाचनको लागि तयार बन्न थाले । लोकतन्त्रमा आवधिक निर्वाचन अत्यन्तै महŒवपूर्ण हुन्छ । निश्चित समय सीमा अगावै ठूलो आन्दोलनले पुरानो जनमतलाई अस्वीकार ग¥यो भने मध्यावधि निर्वाचन गर्नुपर्ने हुन्छ । सोही बाटोमा मुलुक अगाडि बढ्न पुग्यो । देशका प्रमुख धरोहरहरू जलेर खरानी हुँदा त्यसमाथि उभिएर सबै अवस्थाहरूलाई अनुकूल बनाउँदै छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु आफैमा निकै ठूलो चुनौती थियो । सबै दलहरूलाई विश्वासमा लिएर कार्की नेतृत्वको सरकारले तोकिएको दिन मै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न ग¥यो ।
जेन–जी विद्रोहको समयमा नेपालका तत्कालीन ठूला दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेको संयुक्त सरकार थियो । त्यो सरकार पूर्ण प्रष्ट बहुमतको दुई तिहाई नजिकको थियो । निर्वाचनमा पुराना दलहरूको लज्जास्पद हार भयो । २०७९ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा चौथो दलको रुपमा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त ग¥यो । यो स्वयम् त्यो दल मात्र होइन अन्य विश्लेषकहरूको विश्लेषण विपरीत थियो । तर, जनताले पुरानो दलहरूको ज्यादति, भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनको बिरुद्धमा नयाँ दललाई मतदान गरी प्रष्ट बहुमत प्रदान गरेको कुरा नकार्न मिल्दैन ।
२०४६ सालको जनआन्दोलन भाग १ द्वारा नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । २०५२ सालबाट तत्कालीन नेपालको कम्युनिस्ट पार्टी माओवादीको सशस्त्र आन्दोलनको कारण हजारौं मानिसहरूको ज्यान गयो । हजारौं विस्थापित भए भने हजारौं व्यक्तिहरू अहिले पनि बेपत्ता छन् । २०६२÷०६३ सालको जनआन्दोलन भाग २ बाट नेपालमा गणतन्त्रको स्थापना गरियो । जरा गाडेर रहेको नेपालको राजतन्त्र समाप्त गरियो । त्यस पछाडिका सत्ताधारी दलहरूको मुख्य ध्यान केवल सत्ता प्राप्त गर्नमै देखियो ।
नेपाल संघीयतामा फड्को मारे पनि आवश्यक कानूनहरू निर्माण गर्नमा दलहरु दत्तचित्त भएर लागेनन् । निकै ठूलो सपना देखाएर नेपालमा कम्युनिस्ट पार्टीहरू मिल्ने फेरि टुट्ने फुट्ने हुँदै अगाडि बढे । नेपाली कांग्रेस जस्तो मध्यमार्गी लोकतान्त्रिक पार्टी समेत अन्य कम्युनिस्ट पार्टीहरूको पछाडि हिँडेर आफूलाई बाम पार्टीमा परिणत गरिसकेको थियो । त्यो कुरा लोकतन्त्र, मानवअधिकार, बहुलवादी समाज र आवधिक निर्वाचनको पक्षधर लोकतन्त्रवादीहरू पटक्कै मान्न तयार थिएनन् । आमजनताको मत र कार्यकर्ताहरूको मानसिकता माथि उक्त पार्टीले समेत नजरअन्दाज गर्दै सत्ता भोगमा मात्र आफ्नो ध्यान केन्द्रित ग¥यो । त्यसकारण नेपालमा अर्को कुनै लोकतान्त्रिक पार्टीको जरुरी भइसकेको थियो ।
पुराना पार्टीहरू आफ्ना पुरानो मत मै मख्ख बने । उनीहरूले विश्वव्यापीकरण, सञ्चारमाध्यममा आएको क्रान्ति, सूचना तथा सञ्चारको बढ्दो प्रयोग, वैदेशिक रोजगारीमा गएका युवाहरूको चाहना समयमै बुझ्न सकेनन् । लाखौं युवाहरू वैदेशिक रोजगारीमा जाने मात्र होइन उतै घरजाम गरेर बस्ने प्रवृत्तिले धेरै परिवारहरु खण्डित बनिरहेका थिए । अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका धेरै युवाहरूका मृत्युपश्चात लासहरू दैनिक रुपमा देशमा भित्रिन्थे । आममानिसहरू यस्ता समस्याहरूबाट आक्रान्त थिए । यस्तै अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राम्रो विकल्प बनेर अगाडि देखियो । त्यो पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा पटक–पटक जेल परेका थिए । सत्तारुढ दलका कतिपय नेता कार्यकर्ता उस्तै प्रकारका मुद्दामा परे पनि उनीहरु प्रति राज्य संयन्त्र उदार देखिन्थ्यो । अमुक पार्टीको अमुक नेता मात्र निशानामा परिरहेको कुरा आममानिसहरूले मज्जाले अध्ययन गरिरहेका थिए ।
२०७९ बैशाखको स्थानीय निर्वाचनका परिणामहरूमा समेत जनताको आक्रोश प्रष्ट देखिन्थ्यो । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अत्याधिक मतले विजयी भएका थिए । त्यस्तै धरानमा हर्क साम्पाङ, पोखरा र धनगढी नगरपालिकाहरूमा स्वतन्त्र व्यक्तिहरूले नेतृत्व गर्न पाए । यस्तो परिस्थितिबाट पाठ सिकेर सच्चिन तयार नहुनु नै पुराना दलहरूको कमजोरी थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले गरेको कार्य जनताले मज्जाले हेरिरहेका थिए । महानगरपालिकाका प्रमुखलाई कतिपय परिस्थितिमा सरकारले समेत असहयोग गरेको थियो । अनावश्यक मुद्दा, प्रमुख प्रशासकीय अधिकृत विवाद, सार्वजनिक जग्गा खाली गर्न व्यवधान गर्ने कार्यमा ठूला दलहरु संलग्न थिए ।
यस्तो परिस्थितिमा महानगरपालिकाका मेयर स्वयम् पुराना दलहरूप्रति अत्यन्त आक्रोशित थिए । आममानिसहरु प्रतिष्ठित तथा नेतृत्वमा अब्बल देखिएका मानिसहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएर एउटा वैकल्पिक लोकतान्त्रिक शक्ति बनोस् भन्ने शुभेच्छा राखिरहेका थिए । यस्तै परिस्थितिको बीच चुनावको केही अगाडि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्नो समूह सहित प्रवेश गरे । यसले राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा लहर ल्यायो ।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भयो । गगन थापा नेतृत्वले पुरानो पुस्तालाई अपदस्त ग¥यो । तर तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेमा ओली नेतृत्वको पुरानो पुस्ता नै हावी मात्र भएन आफूसँग फरक मत राख्ने सोही पार्टीको अर्को समूहलाई भित्तामा पुत्र्याउने काम गरियो । यसले आन्तरिक पार्टी संघर्ष र यसले उत्पन्न गरेको विभेदलाई समेत निर्वाचनमा देखाइदिने अभिष्ट पूरा गर्ने अनुमति प्रदान गरेको थियो भनेर बुझ्दा गल्ती हुँदैन । अर्कोतर्फ भित्तामा पुगेका शेरबहादुर देउवा र ओली मिलेर संसद पुनस्र्थापना गरी पुनः सरकारको नेतृत्व गर्ने सपना सदाका लागि समाप्त भयो । गगन–विश्वप्रकाश वैधानिक विद्रोहले तत्कालीन पार्टीहरूलाई आ–आफ्ना चुनावी चिन्ह लिएर निर्वाचन लड्न बाध्य बनायो ।
चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई जेन–जी विद्रोहको पूरक विद्रोहको रुपमा लिन सकिन्छ । किनभने जिन–जी विद्रोह पश्चात तुरुन्त पुराना पार्टीका नेताहरूको पुरानै शैली शुरु भइसकेको थियो । यस्तो परिस्थितिमा जेन–जी विद्रोहकै पूरक भौतिक विद्रोह जन्मन सक्ने खतरा समेत थियो । तर, निर्धारित समयमा चुनाव सम्पन्न भएबाट जनताको भौतिक विद्रोहको आक्रोश ब्यालेट पेपर मार्फत उदृत भएको कुरा सत्य मान्नु पर्दछ । जेन–जी पुस्ताको विद्रोह भ्रष्टाचार, नातावाद, कृपावाद तथा वेरोजगार समस्याको बिरुद्धको विद्रोह थियो भने निर्वाचन मार्फत जनताको अभिमत र पुराना पार्टीको अस्वीकृति तिनै मुद्दाहरूमा केन्द्रित थियो । त्यसकारण फागुन २१ को ब्यालेट विद्रोह भदौ २३ को जेन–जी विद्रोहको पूरक विद्रोह हो भन्न सकिन्छ ।



























