ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिने

0
3

झापा। नेकपा एमाले ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा सडक आन्दोलन घोषणा गरेको छ।

एमाले सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत् पार्टी कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। उनले ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न’ आन्दोलन आवश्यक भएको उल्लेख गरेका छन्।

बस्नेतले फेसबुकमार्फत् लेखेका छन्, “आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं, कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ।”

पक्राउप्रति आपत्ति

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो।

उक्त घटनाप्रति प्रतिक्रिया दिँदै बस्नेतले यसले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्। “यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,” उनले उल्लेख गरेका छन्।

प्रहरीमाथि पनि टिप्पणी

बस्नेतले जेनजी आन्दोलनका क्रममा सुरक्षाको अवस्था कमजोर देखिएको भन्दै नेपाल प्रहरी प्रति पनि असन्तुष्टि जनाएका छन्।

“सरकारी सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न ठूलो संख्यामा खटिएको देख्दा दुःख लाग्छ,” उनले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here