ओलीको गिरफ्तारी ‘राज्य आतंक र प्रतिशोधको पराकाष्ठा’, आन्दोलनमा उत्रिने एमाले

0
3

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी गरेको छ।

एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले अध्यक्ष ओलीको गिरफ्तारीलाई वर्तमान सरकारको ‘राज्य आतंक’ र ‘प्रतिशोधको पराकाष्ठा’को संज्ञा दिँदै अब सशक्त आन्दोलनमा जाने स्पष्ट पारे।

उनका अनुसार एमालेले तीनवटा मोर्चाबाट सरकारको सामना गर्ने रणनीति बनाएको छ। पार्टीले सडक, सदन र अदालतमार्फत कानुनी तथा राजनीतिक लडाइँ एकसाथ अगाडि बढाउने तयारी गरेको हो।

‘हामी कानुनी लडाइँ पनि लड्छौँ, सदनमा पनि सशक्त आवाज उठाउँछौँ र सडक संघर्षमा पनि उत्रिन्छौँ,’ बस्नेतले भने, ‘हिजो पनि यस्ता दमनका विरुद्ध लडेका हौँ र आज पनि डटेर सामना गर्न तयार छौँ।’

यसैबीच कोशी प्रदेशमा आन्दोलनका कार्यक्रम तय गर्न एमालेले आज बिहान १० बजे मोरङमा आकस्मिक बैठक बोलाएको छ। बैठकमा केन्द्र, प्रदेश र जिल्लातहका नेताहरूको उपस्थिति रहने जनाइएको छ।

सरकारको कदमको ‘भण्डाफोर’ गर्दै अध्यक्ष ओलीको सम्मानजनक रिहाइको माग गरिने बस्नेतले बताए। बैठकपछि औपचारिक रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने तयारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here