चिल्ड्रेन मन्टेश्वरी स्कुलको ११ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

0
15

मोरङ : मोरङको सुन्दरहरैंचा–४ स्थित दुलारीमा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष सन्तोष कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत प्रमुख अतिथि तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशका अध्यक्ष कमल खनाल विशेष अतिथिका रूपमा सहभागी रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले विद्यार्थीहरूलाई अनुशासन, नैतिकता र सिर्जनशीलतासँग अघि बढ्न प्रेरित गर्दै विद्यालयको समग्र प्रगतिप्रति प्रशंसा व्यक्त गरे।

त्यसैगरी, विशेष अतिथि कमल खनालले निजी विद्यालयहरूले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले प्रतिस्पर्धात्मक वर्तमान समयमा विद्यार्थीलाई व्यवहारिक, प्रविधिमैत्री तथा जीवनोपयोगी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए। साथै, विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक वर्षमा हासिल भएका उपलब्धि, शैक्षिक सुधार, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराए। उनले विद्यालयको सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयास महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

सो अवसरमा समाजमा योगदान पुर्‍याउने व्यक्तित्व, उत्कृष्ट शिक्षक, अभिभावक तथा २०८१ सालमा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक लगायतका विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएका थिए। कार्यक्रममा ‘चिल्ड्रेन मन्टेश्वरी एक्स्पो २०८२’ समेत सञ्चालन गरिएको थियो।

कार्यक्रम सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुल परिसरमा सम्पन्न भएको हो, जहाँ अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका अनुसार उक्त समारोहले अभिभावकहरूको विश्वास अझ मजबुत बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here