झापा । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।
आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिता बैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशाला भद्रपुरमा हुनेछ । विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार रकम पाउनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल र आयोजकको एक टिम रहनेछ ।
त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुंगो लागेको क्लबका अध्यक्ष सुब्बाले जानकारी दिए । बंगलादेश र जापानका एकएक क्लबको गोल्डकपमा सहभागिताबारे सम्वाद भइरहेको छ ।
नेपाली टिमको हकमा एक टिममा चारजनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीनजना खेलाउन पाइने नियम रहेको अध्यक्ष सुब्बाले बताए ।
प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।
झापालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।































