राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिए राजीनामा

0
2

झापा । वरिष्ठ पत्रकार धमेन्द्र झा ले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना समक्ष राजीनामापत्र बुझाएका हुन्।

राजीनामा पत्रमा उनले नेपाल सरकारको निर्णयअनुसार आफू कार्यकारी अध्यक्षमा नियुक्त भएको उल्लेख गर्दै कार्यकालभर संस्थाको सर्वोत्तम हितमा काम गरेको बताएका छन्। ‘मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुसरण गर्दै राससको हित प्रवर्द्धनमा क्रियाशील रहेँ,’ उनले उल्लेख गरेका छन्।

उनले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै नवगठित सरकारलाई आफ्नै प्राथमिकताअनुसार काम गर्ने वातावरण बनाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्। ‘सरकारले आफ्नो अनुकूलतामा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दै सफलताको कामना गर्दछु,’ उनले राजीनामा पत्रमा लेखेका छन्।

नैतिक जिम्मेवारीका आधारमा मार्ग प्रशस्त गर्न उचित ठानेर आफूले पदबाट अलग भएको उनले स्पष्ट पारेका छन्।

उनको कार्यकालमा राससलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी समाचार एजेन्सीका रूपमा विकास गर्न उल्लेख्य पहलहरू गरिएको बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here