झापा, सवारी साधनमा जडित प्रेसर हर्न हटाउने अभियानलाई तीव्रता दिँदै झापा ट्राफिक प्रहरीले जिल्लाभर कारबाही र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
अभियान अन्तर्गत आज जिल्लाका विभिन्न स्थानबाट ७३ वटा प्रेसर हर्न हटाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनलाई कानुनअनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरक्षक सन्तोष राईले जानकारी दिए ।
प्रहरीका अनुसार प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्वनि प्रदूषण बढाउने मात्र होइन, आम नागरिकको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउने गर्दछ ।
यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी चालक तथा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताएको छ ।





























