बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

0
15
इनरुवा (सुनसरी),
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।
इनरुवा नगरपालिका-२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । इटहरी-१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको डा महतोले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको उहाँले बताउनुभयो ।
सङ्क्रमण फैलिन नदिन फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको डा महतोले जानकारी दिनुभयो । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा हालसम्म सङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here