सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

0
2
काठमाडौँ, 
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उहाँहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षमा रहेर सरकारका  कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छाैं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।”
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा सरकार र पार्टी चलाउँदा कहीँकतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ । कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छाँै ।”
नेपाली कम्युष्टि पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिस्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ ।”
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव
सङ्घीय संसद्का पूर्वमहासचिव डा भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न ।”
प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here