सूर्योदयको ऐतिहासिक माने डाँडा

0
12

शताब्दीयांै अघिका संरचनाहरु पछिल्ला पुस्ताका लागि ऐतिहासिक तथा महत्वपूर्ण हुन्छन् । तर कहिलेकाहीँ ऐतिहासिक क्षेत्रहरूको पहिचान गर्न ढिला भइरहेको हुन्छ । इलामको सूर्योदय नगरपालिका वडा नं. ८ मा एउटा ऐतिहासिक एवम् पुरातात्विक डाँडा छ । जहाँ शताब्दीयौं अगाडि बनेका ऐतिहासिक ‘मानेहरू’छन् । मानेहरु बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्था र विश्वासको प्रतिक मानिन्छ । यस माने डाँडा वरपर बस्ती छ । उक्त सुन्दर बस्तीलाई बोलचालको भाषामा ‘माने गाउँ’ भनिन्छ । माने गाउँलाई ‘माने डाँडा’ पनि भन्ने गरिन्छ । यस गाउँमा लेप्चा, राई, गुरुङ, मुखिया, क्षेत्री लगायतका जातजातिको बसोबास रहेको छ । पौराणिक र ऐतिहासिक कुराहरू बारेमा थाहा पाउन हामी इतिहासको सहयोग लिन्छौ । इतिहासले वर्तमानमा ऐतिहासिक कुराबारे छर्लङ्ग पारिदिन्छ । तर, कतिपय ऐतिहासिक कुराको यथेष्ट प्रमाण इतिहासमा पनि पाउन मुस्किल हुन्छ ।

‘माने गाउँ’को कथा पनि त्यस्तै छ । माने गाउँमा भएका यी ऐतिहासिक ‘मानेहरू’ कहिले, कसको पालामा र किन बनाइएका हुन् भन्ने प्रमाण काँही पनि फेला पर्न नसकेको जानकारहरू बताउँछन् । सूर्योदय नगरपालिका वडा नं. ८ का अध्यक्ष जंगबहादुर गुरुङका अनुसार यी मानेहरू दुई सय वर्ष अगाडिका हुन्, बाहिरबाट व्यापार गर्ने सिलसिलामा शेर्पाहरु यहाँ आएर बास बस्ने गर्दथे, मृत्युपश्चात् उनीहरूको शव गाडिएको स्थान नै ‘माने’ हो भन्ने बताउँछन् । त्यस्तै माने छेवैमा घर भएका प्रेमबहादुर गुरुङका अनुसार मानेहरू आफ्नो बाबु, बाजेको पालादेखि नै रही आएको र मानेभित्र आफ्ना सन्तान नभएकाहरूले अपुताली सम्पत्ति गाडेर राखेको विश्वास गर्छन् ।

स्थानीय कतिपयले यसलाई तीन सय वर्ष अगाडिको हो भन्ने दाबी गर्छन् र त्यसभित्र मानिसको मृत्युपश्चात् मृत शरीरबाट निकालिएको अस्तुसँगै बौद्ध धर्मावलम्बीहरूले बहुमूल्य चीज वस्तुहरु त्यसभित्र गाडेर राखिएको भन्दछन् भने त्यहाँ बसोबास गर्ने लेप्चा जातिहरु यी ‘मानेहरू’ आफ्नो पूर्खाले निर्माण गरेको दावी गर्दछन् । स्थानीय अग्रज तथा सामाजिक अभियन्ता मानकुमार लेप्चा मानेका बारे आफ्नो धारणा राख्दै भन्छन्– ‘शुरुवातमा इलाम जंगल थियो । त्यसबेला त्यहाँ बसोबास गर्ने अरू कुनै जातजाति थिएन । लेप्चा जातिहरु मात्र बसोबास गर्दथे । सोही कुरालाई आधार मानेर पुस्ता गन्ती गर्दा राजा पृथ्वीनारायण शाहको पालातिर त्यहाँ भएका मानेहरू लेप्चाहरुको पूर्खाले निर्माण गरेका हुन् । मानेलाई लेप्चा भाषामा ‘छेतेन’ भनिन्छ, माने धार्मिक र सांस्कृतिक दुवै हिसाबले महŒवपूर्ण मानिन्छ । लेप्चा जातिको लागि ‘माने’लाई गुम्बाभन्दा पनि ठूलो मानिन्छ ।’ तर, दुःखको कुरा यो ऐतिहासिक स्थल माओवादी द्वन्द्वकालमा अज्ञात समूहबाट चोरी भएको थियो । मानेहरू फुटाएर त्यहाँ गाडेर राखिएको बहुमूल्य वस्तुहरू चोरी भएको छ । त्यसपश्चात् पनि यो ऐतिहासिक स्थलको संरक्षण र सम्बद्र्धन गरिनुपर्छ भनेर स्थानीय बासिन्दा, जनप्रतिनिधिको अग्रसरता र पहलमा कोशी प्रदेश सरकारको सहयोगमा यस स्थलको संरक्षण र प्रवद्र्धनको काम भएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रमा सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारले २०७९ सालमै एक सय ५० मिटर लामो सीसाको पुल निर्माण कार्य शुरु गरेको थियो । पुल निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । केही योजना फेरबदल भएकाले निर्माण समय केही पर लम्बिएको बताइन्छ । आफ्नो क्षेत्रको विकास होस्, रोजगारी सिर्जना होस्, स्थानीय उत्पादनले मूल्य तथा बजार पाओस् भन्ने उद्देश्यले यस क्षेत्रका स्थानीयले उक्त सिसाको पुल निर्माणका निमित्त निःशुल्क जग्गा समेत उपलब्ध गराएका छन् । उक्त परियोजना सञ्चालन गर्न सीसाको पुल निर्माणको लागि स्थानीय प्रेमबहादुर गुरुङ, बिर्खबहादुर याखा, चित्रबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, सुवास राई, मानकुमार लाप्चाले करिब तीन रोपनी जग्गा प्रदान गरेका छन् ।

साइक्लिङ ट्रयाकको रूपमा निर्माण गरिएको उक्त सीसाको पुल कन्यामबाट माने डाँडा, फिक्कल फेन्सोङ गुम्बा हँुदै अन्तिम गन्तव्य स्वामी पार्क आइतबारे पुर्णे डाँडासम्म बताइएको छ । साइक्लिङ ट्रयाक सीसाको पुल सुचारू भएपछि यस ठाउँमा धेरैभन्दा धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ भनेर स्थानीय उत्साहित पनि देखिन्छन् । यतिबेला त्यस क्षेत्रमा व्यक्तिगत लगानीमा होटलहरू बनाउने कार्य पनि भइरहेको छ । माने डाँडा अर्थात् माने गाउँ कन्याम र फिक्कलको सिमाना छेउमा, झापा–इलाम मेची राजमार्गमा रहेको शान्तिचोक मास्तिर डाँडामा छ । हाल यस गाउँलाई परिवर्तन नाम शान्तिचोक भनिन् थालिएको छ । स्थानीय कतिपयले ऐतिहासिक नाम माने गाउँ अर्थात् माने डाँडा लोप हुनु नहुने धारणा राख्छन् ।

हुन त यस्तै किसिमका ऐतिहासिक मानेहरू सूर्योदय नगरपालिकाभित्र अरू पनि भेटिन्छन् । फिक्कल र बरबोटेमा पनि मानेहरू छन् । ती स्थानहरूलाई पनि स्थानीयहरूले बोलचालको भाषामा माने भन्दछन् । मुलुककै एउटा सुन्दर जिल्लाको सूचीमा पर्ने इलाम प्राकृतिक रूपमा मात्र होइन धार्मिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि उत्तिकै सुन्दर छ । आन्तरिक र वाह्य पर्यटकको मुख्य रोजाईको गन्तव्य सूर्योदय नगरपालिकाको कन्याम चिया बगान, श्रीअन्तु, हाँस पोखरी, कुटी डाँडा पाथीभरा मन्दिरमा पर्यटकीय मौसममा दैनिक पर्यटकहरूको ठूलो भिड भाड लाग्ने गर्दछ ।

सूर्योदय नगरभित्र अन्य धेरै ऐतिहासिक र पुरातात्विक स्थलहरू छन् जुन ओझेलमा नै छन् । त्यहाँ भएका ऐतिहासिक स्थलहरूको खोजी, पहिचान, संरक्षण र प्रवद्र्धनमा स्थानीय बासिन्दा, जनप्रतिनिधि र स्थानीय सरकारको ध्यान पुग्न सके पर्यटकीय स्थलको संख्यामा वृद्धि हुने निश्चित छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण इलामले पर्यटकहरूको मन त लोभ्याउँछ नै त्यहाँको स्थानीय उत्पादन चिया, तरकारी, अकबरे खुर्सानी, दूध, दूधजन्य परिकार छुर्पी, घ्यू, ललीपप समेत आगन्तुक पाहुनाको मुख्य रोजाईमा पर्दछ । घर फर्किदा उनीहरू कोसेलीका रुपमा लिएर जाने गर्दछन् । स्थानीय उत्पादन घ्यू, छुर्पी, चिया र ललीपपको मात्र व्यापार गरेर त्यस क्षेत्रका व्यापारीहरूले लामो समयदेखि जिवीकोपार्जन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here