पथरीको भुटानी शरणार्थी शिविरमा लागू औषध दुर्व्यसनी बढ्दै

0
2

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित भुटानी शरणार्थी क्याम्पमा पछिल्लो समयमा लागूऔषध तथा दुर्व्यसनी र चोरीका घटनाहरू बढ्दै गएका छन्।

दिनहुँ जसो त्यस्ता चोरी तथा लागू औषध दुर्व्यसनीका घटनाहरू बढ्दै गएको स्थानीय भुटानी शरणार्थीहरूले गुनासो गरेका हुन्। सन् १९९२ देखि पूर्वी नेपालको मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० को शिविर डाँडामा भुटानी शरणार्थीहरू शरणागत जीवन बिताउँदै आएका छन्।

शरणार्थीगत जीवन बिताउँदै आएका उनीहरू यतिबेला लागूऔषध दुर्व्यसनमा युवा युवतीहरू फस्दै गएको र विगत केही दिन यता देखि रातमा समेत चोरी र अश्लिल शब्द बोल्नेहरूको जमातले आतंकित तुल्याएको स्थानीय युवा आइतराज राईले बताए ।

सोही शिविरमा बस्दै आएका अर्का भुटानी अगुवा राम बानियाँले गत भदौ २४ गतेको जेनजी आन्दोलनको बेला लखेटिएको शिविर डाँडाको सशस्त्र प्रहरी बलको प्रहरी टोली पुनःस्थापना गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन्। उक्त बेस क्याम्पमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सशस्त्र प्रहरीहरूले सुरक्षा प्रदान गर्दै आएका थिए ।

सशस्त्र माओवादी जनयुद्ध र द्वन्दकालकै बेलादेखि नै पथरीको भुटानी शरणार्थी शिविरमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना भई शान्ति सुरक्षा प्रदान गर्दै आइरहेको थियो। बेस क्याम्पमा गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका बेला प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा तोडफोड गरेपछि नजिकैमा रहेको पथरी शनिश्चरे नगरपालिकाकै वडा नम्बर ४ मा रहेको अर्को शनिश्चरे सशस्त्र प्रहरी बेस क्याम्पमा यहाँका सशस्त्र प्रहरीहरू असुरक्षाका कारण गाभिएका थिए।

यसैबीच लागूऔषध कारोबारसहित चोरीका घटनामा समेत बृद्धि भएको जनाइएको छ । एकै रातमा छ वटा सम्म मोबाइल र ८० हजार रुपैयाँसम्म चोरी भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसीराम अर्यालले शिविर डाँडास्थित भुटानी शरणार्थीहरूको बस्तीको शान्ति सुव्यवस्थाका लागि प्रहरीहरूको गस्ती नियमित परिचालन गर्दै आएको र लागू औषध दुर्व्यसनमा संलग्नहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको एवम् चोरीका सामान किन्ने समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए । उनले त्यस क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन शिविर व्यवस्थापन समितिका पदाधिकारीहरूलाई आग्रह गरिरहेको उल्लेख गरे ।

यता पथरी शनिश्चरे वडा नं १० स्थित भुटानी शरणार्थी क्याम्पका सचिव करन राईका अनुसार पथरीमा वर्षौंदेखि शरणागत जीवन बिताइरहेका भुटानी शरणार्थीहरूको दिगो व्यवस्थापनका लागि सुशीला कार्की नेतृत्वको सरकारको बेलामा गृह मन्त्रालयमा पुगेर सरकारका प्रतिनिधिहरूसंग समस्याहरु बारे अवगत गराएको बताए ।

पछिल्लो तथ्याङ्क सन् २०२५ अनुसार हाल मोरङको पथरी शनिश्चरे वडा नं १० मा रहेको शिविरमा मात्रै एक हजार पाँच सय ४० जना भुटानी शरणार्थीहरु शरणागत जीवन बिताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here