मौरीपालनबाट मनग्य आम्दानी

0
444

 

इलाम, २८ वैशाख । जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँ अहिले जिर्मलेकै नमुना कृषकका रूपमा चिनिनुहुन्छ ।

राईकै सिको गरेर जिर्मलेका १०० भन्दा बढी किसान आधुनिक मौरीपालन व्यवसायमा लागेका छन् । स्थानीय कुमार मोक्तान र बुद्ध लामाले अहिले मह बेचेर वार्षिक रु एक लाखभन्दा बढीको मह बिक्री गर्नुहुन्छ ।

“मेहनत गरे आफ्नै देशमा कमाउन सकिँदो रहेछ,” विदेश जान राहदानी बनाएर बस्नुभएका राईले भन्नुभयो । अन्तिम समयमा आएर उहाँले मौरीपालन व्यवसाय रोज्नु भएको हो । राईले वर्षमा छ पटकसम्म मह काढ्नु हुन्छ । उहाँले प्रतिकिलो मह रु ७०० देखि रु एक हजारसम्ममा बिक्री गर्नुहुन्छ ।

जिर्मलेमा अहिले व्यावसायिक रूपमा मौरी पाल्ने किसानको समूह समेत गठन भएका छन् । सलकपुर र मनोकामना मौरीपालक किसान समूहले मह उत्पादन गर्नुका साथै यहाँका गोला मौरी नमुनाको रूपमा मौरी विकास शाखा गोदावरी पठाउने गरेको छ । जिर्मलेलाई पूर्वाञ्चलकै मौरी स्रोतकेन्द्रको रूपमा विकास गर्न यहाँका किसान मौरीपालनसम्बन्धी तालिम लिइरहेका छन् । सेरेना जातको मौरीका लागि जिर्मले क्षेत्र अत्यन्तै उपयुक्त मानिन्छ । यहाँ उत्पादन भएको मह इलाम, झापा, काठमाडौँ र भारतीय बजारमा बिक्री हुँदै आएको मौरी व्यवसायी कुमार मोक्तान बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here