हात्ती आतंक जस्ताको त्यस्तै

0
497

बिर्तामोड, जेठ १ । वर्षेनि हात्तीको समस्याबाट पीडित बनेका झापाको पूर्वोत्तरका बासिन्दाहरुको पीडा अझै कम हुन सकेको छैन । कहिले मानवमाथि आक्रमण त कहिले ज्यान समेत लिने हात्तीले यहाँका स्थानीयहरुले वर्षभरि दुःख गरेर लगाएको अन्नबाली समेत हात्तीले रातैपिच्छे सखाफ पार्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । हात्तीको कारणले बाहुनडाँगी र गाडागल्ली, तेलपानी, नकलबन्दा लगायतका बासिन्दाहरु समस्यामा परेका छन् ।
विश्व बैंकको करिब २ करोडभन्दा बढी लागतमा १८ किलोमिटर लामो बिद्युतीय सोलार फेन्सिङ्ग जडान गरे पनि समस्या ज्यूँका त्यूँ रहेको छ । निर्वाचनताका हात्तीको समस्या समाधान गर्ने बताउँने राजनीतिक दलका नेताहरु निर्वाचनपछि समस्याप्रति चासो नदेखाउने गरेको स्थानीयबासीको गुनासो रहेको छ ।
भारतको आउने सयांैको संख्यामा आउने हात्तीले हरेक दिन यस क्षेत्रका स्थानीयबासीहरुलाई दुःख दिने गरेको छ । दुःख गरेर लगाएको खेती हात्तीले नष्ट गर्ने किसान बताउँछन् । हुलका हुल आउने हात्तीले किसानले भित्र्याएको अन्नबाली खाएर छरेर नष्ट गर्न मात्रै नभएर फलफुल स–साना बोटबिरुवा कुल्चेर नष्ट गर्ने गरेको स्थानीय डिल्लीराम निरौला बताउँछन् । किसानले लगाएको बाली भित्र्याउनुभन्दा पहिले नै हात्तीले नष्ट गर्ने गरेको स्थानीय केदारनाथ पोखरेल गुनासो गरे ।
जिल्ला वन कार्यालय झापाले हात्तीको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाएको जनाएको छ । कार्यालयका अनुसार २०६८÷२०६९ मा ९ जना, २०६९÷२०७० मा ८ जना, २०७०÷२०७१ मा ३ जना २०७१÷२०७२ मा १ जना र २०७२÷२०७३ मा ४ जनाले ज्यान गुमाएको जिल्ला वन कार्यालयका सहायक अधिकृत देवेन्द्र उप्रेतीले बताए ।
हात्ती नियन्त्रणमा गरिएका हरेक योजना बिफल बन्दै जाँदा यसको दिर्घकालीन उपायको बिषयमा समयमा नै चासो देखाउन सरकारसँग स्थानीयले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here