दक्षिणी झापा हड्डी तस्करीको नाका

0
342

भद्रपुर, झापाको खुल्ला सीमानाको उपयोग गर्दै भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ ।
भारतको बिहार राज्यसँग जोडिएको झापा जिल्लाबाट बन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहेपनि झापा प्रहरी, प्रशासन भने बेखबर छ ।
झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छाला दक्षिणी झापाको सीमा नाकाबाट भारत तस्करी भइरहेको छ । भारतीय एसएसबीले गिरोहमा आवद्ध दुई जना भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला कोचाधामन, तेघरिया कन्हैयाबाड़ी निवासी २५ बर्षीय मोहम्मद मोइन र ४० बर्षीय बिष्णु रजक रहेको भारतीय एसएसबी १२ बी बटालियनका डिप्टी कमाण्डर कुमार सुन्दरम्ले जानकारी दिए । एसएसबीले उनीहरुका साथबाट आठ वटा हरिणको सिङ फेला पारेको छ । जसको अन्तर्राष्ट्रिय बजार मूल्य नेपाली दुई करोड रहेको जनाइएको छ ।
झापा गाँउपालिकासँग जोडिएको भारतको दिघलबैंक नाकाबाट भित्र्याइएको हरिणको सिङ किशनगञ्जतर्फ लैजाने क्रममा बिशेष सुराकीको आधारमा एसएसबीको टोलीले किशनगञ्ज–बहादुरगञ्ज सडक खण्डबाट शुक्रवार पक्राउ गरेको थियो । मोटरसाइकलमा सवार उनीहरुले हरिणको सिङलाई बोरामा हालेर लगिरहेका थिए । पक्राउ परेका दुवै जनाले हरिणको सिङ नेपालबाट ल्याएको एसएसबीलाई बताएका छन् । झापा गाउँपालिकाको सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छैन तर वन्यजन्तुको तस्करी भइरहँदा नियन्त्रण गर्नेतर्फ खासै चासो देखाइएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले वन्यजन्तुको हड्डी तथा छाला तस्करीको बिषयमा आफूलाई थाहा नभएको बताए । ‘यस बारेमा सीमानामा रहेका विओपीका इञ्चार्जलाई तत्काल बुझ्छु– उनले भने– ‘भारतीय एसएसबीले पक्राउ गरेको बिषयमा अनुसन्धान गरी सीमानामा सक्रियता बढाउने छु ।’
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले भने– ‘दक्षिणी झापाका विभिन्न नाकाबाट जनावरको तस्करी हुने बारेमा आफू अनभिज्ञ छु, यस बिषयमा अनुसन्धान गरी सीमानामा प्रहरी सक्रियता बढाउँछु ।’ यस अघि दक्षिणी नाका टाघनडुब्बा, घेराबारी, कुमरखोद, लगायतको क्षेत्रबाट पशुपन्छीको प्वाँख समेत भारतबाट नेपालतर्फ तस्करी हुँदै आएको थियो ।
टाघनडुब्बामा रहेको सशस्त्र प्रहरी वोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक हरित वडुवालले किसनजञ्ज र बहादुरगञ्जको बीचमा रहेको गंगाहाट वजार नजिकैबाट हरिनको सिङ भारतीय प्रहरीले बरामद गरेको बताएका छन् । उनले भने– भारतीय प्रहरीले नेपालबाट तस्करी भइरहेको भनेपछि हामीले चेक जाँचलाई कडाइ गरेका छौं ।
भारतीय प्रहरीले यस अघि हतियार सहित ६ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
केही समय अघि लागूऔषध भित्रिने नाकाका रुपमा चिनिएको झापा पछिल्लो समय वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने नाकाका रुपमा परिचित बनेको छ । यस अघि पनि सोही नाका भएर छालाको तस्करी हुँदै आएको थियो ।
प्रहरी स्रोतका अनुसार भारतबाट नेपाल भित्र्याइन लागेको एक किलो पाँच सय ६० ग्राम व्राउनसुगर भारतीय प्रहरीले बरामद गरेको छ ।
नाम नबताउने शर्तमा एक प्रहरी अधिकृत भन्छन्– सो व्राउनसुगर विभिन्न नाका हुँदै झापाभित्रिँदै थियो तर भारतको इस्लामपुरबाट भारतीय प्रहरीले नेपाल भित्र्याइन लागेको व्राउनसुगर बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here