श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यूँ

0
833

गोविन्द आचार्य

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७५ चैत १६ गते आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

सन्दर्भः नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस

यतिवेला नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरिरहेका छन् । यस अवस्थामा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्नसमेत म महासंघको तर्फबाट नेपाली मिडिया जगत् र आम सञ्चारकर्मीहरूमा हार्दिक अपिल गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री संचार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु । महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक संचार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउदछु । अध्यक्ष, नेपाल पत्रकार महासंघ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here