मजदुर दिवसको औचित्य

0
1050

उन्नाइसौं शताब्दीलाई उद्योगको युग मानिन्छ । कृषियुग पछि तत्कालीन आवश्यकताको पूर्ति गर्दै समृद्ध आधार निर्माण गर्न उद्योगहरु खुल्न थाले । त्यसकै लागि जनशक्तिको खाँचो भयो । ती जनशक्तिलाई कामको अवसर प्रदान गरेर समग्रमा राष्ट्रको समृद्धिका लागि उद्योग, उद्योगी र मजदुरका बीच त्रिकोणात्मक संयोजन आवश्यक पर्यो । त्यही आवश्यकताको पूर्णताका लागि उत्पादनमा प्रमुख भूमिका निर्वाह गर्ने श्रमिकको योगदानको सम्मान गर्ने र श्रमको उचित मूल्य दिनुपर्छ भनेर पैरवी गर्ने दिनको सम्झना गरिन्छ– मई १ लाई ।

उन्नाइसौं शताब्दी शुरु हुनु डेढ दशकअघि अर्थात् सन् १८८६ को मे महिनाको ४ तारिखका दिन अमेरिकाको सिकागोमा भएको घटनाको सम्झनामा मनाउन शुरु गरिएको मई दिवस, श्रमिक वा मजदुर दिवस आज अन्तर्राष्ट्रिय पर्व भइसकेको छ । दिनमा सोह्र घण्टासम्म काम गर्नुपर्ने बाध्यताको अन्त्यका लागि आन्दोलित मजदुर माथि भएका प्रहरी दमनले धेरै निर्दोष मानिसको ज्यान गएको थियो । त्यसकै निहुँमा मजदुरहरुले चलाएको आन्दोलनको परिणाम अहिले विश्वका मजदुरहरुलाई आठ घन्टामात्रै काममा लगाउन पाइन्छ र हप्तामा एकदिन विदा अनिवार्य दिनुपर्ने व्यवस्था भएको छ ।

उद्योगी र मजदुरका बीचको विभेद अन्त्य गरी मजदुरको पसिना र श्रमको सम्मान गर्ने दिनका रुपमा लिइने मजदुर दिवस अहिले विश्वभर मनाइन्छ । यद्यपि भने जस्तै मालिक र मजदुरका बीचको विभेदको खाडल पुरिएको छैन तथापि मजदुरहरुलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन भएको छ । खासगरी भौतिक विकासको यात्रामा झण्डै सबैभन्दा पछि रहेको नेपाल र नेपालीको सन्दर्भमा मजदुर दिवसको फरक महत्व हुनसक्छ ।

हामीकहाँ उत्पादनशील समूहका युवा वर्ग लाखौंको सङ्ख्यामा पलायन भएका छन् । देशमा रोजगारीको अवसर नहुँदा पलायन नेपाली विदेशी श्रम बजारमा पसिना बगाइरहेका छन् । उनीहरुको श्रम र पसिना स्वदेशमै खर्च गर्न र बगाउन नसक्ने पलायन भएका उनीहरुले साटेका पसिनाको मूल्य विप्रेषणले अर्थतन्त्र जसोतसो धानेको छ । यस्तोमा प्रत्येक वर्ष आउने मजदुृर दिवसले ती प्रत्येक मजदुरको ओठमा मुस्कान दिन सक्नु पर्दछ ।

यही समय पूर्वमा चिया बगानमा कार्यरत मजदुरहरु आन्दोलनमा छन् । सरकारले निर्धारण गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित उनीहरुका कारण चिया उद्येग बन्द छन् भने चियापत्ती बोटमै छिप्पिएको छ । एक महिनादेखि आन्दोलनरत् मजदुरहरुले आन्दोलनलाई जीवनमरणको विषय बनाएका छन् । एकातिर मजदुरलाई सम्मान गर्नुपर्ने दिवसको मान्यता र अर्कातिर मजदुरहरुले उद्योगीबाट शोषित हुनु परेको गुनासोका बीच मनाउन लागिएको छ । यस वर्षको मजदुर दिवस । सबै श्रमिक समान छन् र उनीहरुलाई श्रमको उचित मूल्य दिनुपर्दछ यो मानवीयता पनि हो । तर, त्यसका लागि राज्यले वातावरण पनि तयार गरिदिनु पर्दछ ।

कानून बनाएर अथवा निर्देशिका जारी गरेर सरकारले कर्तव्य पूरा गरेको ठहर्दैन, त्यसका लागि उद्योगको संरक्षण गर्न जरुरी छ । उद्योग नरहे मजदुर वा उद्योगी कोही पनि रहने छैन, त्यसतर्फ सरकारको ध्यान जानु पर्दछ । उद्योगीलाई सेवा, सहुलियत लगायत बजार र वितरणको क्षेत्रमा राज्यको दायित्व अनुभूत हुन सक्यो भने मजदुर र दिवस दुबैको औचित्य प्रमाणित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here