बाह्रदशीमा सुविधासम्पन्न कभर्ड हल

0
607

बिर्तामोड।

झापाको बाह्रदशीमा सुविधासम्पन्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ । बाह्रदशी गाउँपालिका–५स्थित फूलबारी माविको खेल मैदानमा ८५ लाख रुपैयाँको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो । कभर्ड हलको शिलान्यास प्रदेश सांसद पूर्णसिंह राजवंशीले गरेका थिए ।

सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद कार्यक्रमका लागि बाह्रदशीलाई ८३ लाख ३१ हजार नौ सय १५ रुपैयाँ प्राप्त भएपछि उपभोक्ताको समेत लागतमा कभर्ड हल निर्माणका लागि शिलान्यास गरिएको हो । कभर्ड हल निर्माण समितिका अध्यक्ष देवेन्द्र चम्लागाँईका अनुसार यसै आर्थिक वर्षभित्र कभर्ड हल निर्माण सम्पन्न गरिने छ ।

चार कठ्ठा क्षेत्रफलमा तयार हुने कभर्ड हल ११६ह्५६ स्क्वायरफिटको हुनेछ । स्टेज, स्टोर रुम, चेञ्जिङ रुम, बाथरुम, शौचालयसहितको कभर्ड हल तयार हुने बताइएको छ । कभर्ड हल शिलान्यासका अवसरमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, बाह्रदशी वडा नं. ५का वडाध्यक्ष भूपेन्द्र कटुवाल, ४ का समिम मिया, ७का मित्र भट्टराई, स्वास्थ्य कार्यालय झापाका लेखा अधिकृत घनेन्द्र ढकाल लगायतको आतिथ्य रहेको थियो ।

गाउँपालिकामा पहिलो कभर्ड हल निर्माण हुने भएपछि स्थानीयमा समेत खुशियाली छाएको छ । यसअघि खुल्ला चौरमा भलिबल, फुटबल र क्रिकेट खेल हुँदै आए पनि कभर्ड हल निर्माण भएपछि अन्य खेलको समेत विकास गरेर लाने बताइएको छ । कभर्ड हल निर्माण हुने भएपछि स्थानीयस्तरमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने बाह्रदशी गाउँपालिकाका खेलकुद संयोजक समेत रहेका चम्लागाँईले बताए ।

यता गाउँपालिकाका खेलकुद सचिव कञ्चना राजवंशीले बाह्रदशीमा कभर्ड हल निर्माण भएपछि खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here