इँटाको विकल्पमा ब्रिक र पेभर्स ब्लक उत्पादन

0
994

भद्रपुर।

इँटाको विकल्पमा सिएलसी ब्रिक उत्पादन शुरु गरिएको छ । स्वदेशी उत्पादनसँगै रोजगारीमा आत्मनिर्भर बनाउने अभियान स्वरुप भद्रपुरका युवाको सामुहिक लगानीमा जिल्लामै पहिलो सिएलसी ब्रिक उत्पादन शुरु गरिएको हो ।

युवा उद्यमीहरु दीपबहादुर श्रेष्ठ, दीपेन्द्रकुमार कार्की, सञ्जय श्रेष्ठ, अनुषा बाँनिया लगायतको सामुहिक साढे दुई करोडको लगानीमा भद्रपुर– ७ स्थित डाँफे चोक नजिकै लक्ष्य ब्रिक एण्ड मेटल उद्योग सञ्चालनमा ल्याइएको हो । सिएलसी ब्रिकसँगै यस उद्योगले भुई तथा आँगनमा ओछ्याउने पेभर्स ब्लक समेत उत्पादन गर्दै आइरहेको जनाइएको छ ।

पछिल्लो समयमा देशभरका इँटा उद्योगबाट हुने बढ्दो वातावरण प्रदुषण र जथाभावी माटो कटानले हुने गरेको भू–विनाशलाई रोकथाम गर्ने उद्देश्यका साथ आधुनिकस्तरको मेसिनरी उपकरण प्रयोग गरी इँटाको विकल्पमा यस किसिमको उद्योग सञ्चालनमा ल्याएको उद्योगका निर्देशक दिपबहादुर श्रेष्ठले जानकारी दिए । प्रदुषणरहित यस उद्योगले भाइव्रेटिङ्ग प्रविधिबाट ब्रिक र ब्लक उत्पादन गर्दै आइरहेको उनले बताए ।

विदेशी मुलुकहरुमा अहिले घर तथा ठूला–ठूला भवन बनाउँदा इँटाको विकल्पमा सिएलसी ब्रिक नै प्रयोग गर्न थालेको र भविष्यमा नेपालमा पनि ब्रिकको माग उच्च हुने अनुमानका साथ यस उद्योग सञ्चालनमा ल्याएको लगानीकर्ता सञ्जय श्रेष्ठले बताए ।

उनका अनुसार सात वटा इँटा बराबर एउटा ब्रिक उत्पादन गरिँदैछ । इँटाको क्षमताभन्दा ब्रिकको क्षमता कम हुन्छ र यसले घरमा हुने क्षति समेत कम गर्छ । ‘घर बनाउन लगानी कम लाग्नुका साथै मजदुरको पारिश्रमिक र सिमेन्टीको मात्र पनि कम लाग्छ’ –उनले भने । सिएलसी ब्रिक तीन प्रकारको र पभर ब्लक ११ प्रकारको उत्पादन भइरहेको छ ।

बजारमा अहिले यसको माग समेत उच्च रहेको उनको भनाई छ । पेभर्स ब्लक भुई र आँगनमा लगाउनुका साथै २० फिटभन्दा कम सडकहरुमा समेत सजिलै प्रयोग गर्न सकिन्छ र यसको टिकाउन कालोपत्रे सडकभन्दा बलियो हुने अर्का लगानीकर्ता दिपेन्द्रकुमार कार्कीले बताए । यस उद्योग सञ्चालनमा आएसँगै ६० जनाभन्दा बढीले रोगजारी पाएको र आगामी दिनमा उत्पादन बढेपछि थप व्यक्तिले रोजगारी पाउने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here