प्रदेश १ काे बजेट अधिवेशन जेठ १३ गतेबाट सुरु हुने

0
492

विराटनगर,

प्रदेश १ सभाको चौथो अधिवेशन जेठ १३ गतेदेखि सुरु हुने भएको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गते दिउँसो १ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद् बैठकले जेठ १७ गते प्रदेश समन्वय परिषद्को बैठक बोलाउने निर्णय पनि गरेको छ।

स्थानीय तह र प्रदेश सरकारबीचको साझा सूचीमा रहेका अधिकारहरू कार्यान्वयनमा आउने जटिलताका विषयमा समन्वय परिषद् बैठकमा छलफल हुनेछ।  प्रदेश सरकारले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रोत्साहन भत्ता वितरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रोत्साहन भत्ता अधिकतम ५० प्रतिशत हुने जानकारी दिए।  यसैगरी सार्वजनिक खर्चको मापदण्ड कार्यविधि मितव्ययिता २०७५ संशोधन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगतको स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सञ्चालन निर्देशिका पारित गर्ने निर्णय पनि भएको छ। यस्तै प्रदेश घरेलु हिंसासम्वन्धी नियमावली २०७६ पनि पारित भएको छ। मन्त्रिपरिषद बैठकले मनमोहन विश्व विद्यालयका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

संसदको आगामी अधिवेशन सुरुभएसँगै पूर्व बजेट छलफल अघि बढ्ने छ। केही दिन पूर्व बजेट छलफल गरेपछि सरकारले एक साता भित्रमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। आगामी आर्थिक वर्षकालागि असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने तयारी सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here