ताप्लेजुङमा रसायनिक मल अभाव

0
706

ताप्लेजुङ,

मकै दोहोर्‍याउने (दोस्रो पटक गोड्ने) बेला रसायनिक मल नपाएपछि कृषक समस्यामा परेका छन्। मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन घट्नेमा किसानको चिन्ता छ।

‘मल नलगाई मकैमा घोगा र दाना लाग्दैन,’ आइतबार मल खरिदका लागि सदरमुकाम आएका फुङलिङ नगरपालिका–४ का देउकुमार लिम्बुले भने, ‘बजारका सबै पसल चाहारें, कतै मल पाइएन।’ मल खोज्दै कृषि सामग्री कम्पनीको कार्यालय र साल्ट ट्रेडिङमा पुगेका कृषकहरु मात्रै होइन, व्यापारीसमेत रित्तो हात फर्किइरहेका छन्।

पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुममा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी झापाकै गोदाममा युरिया मल नरहेको कार्यालयका सूचना अधिकारी नारायण टुडुले बताए।  फुङलिङ बजारका व्यावसायी तुलसी गौतमको पसलमा युरिया मलका लागि प्रत्येक दिन ९० देखि १०० जनासम्म कृषकहरु पुग्ने गरेका छन्।

‘अहिले मकैमा मल लगाउने सिजन भएकाले युरिया मल सोध्न धेरै कृषकहरु आउनुहुन्छ,’ गौतमले भने, ‘छैन, पछि सम्पर्क गर्नुस् भन्दै फर्काउन बाध्य छु।’ कृषकले मकै दोहोर्‍याउनअघि मल लगाउने गरेका छन्। पहिले सहकारी संस्थाले बैशाख नलाग्दै गाउँमै ल्याएर मल बिक्री गरे पनि यस वर्ष नल्याएको पाँचथर याङ्वरकका कृषक हर्क लिम्बु बताउँछन्।

कृषि सामग्री कम्पनीले सहकारी संस्था मार्फत् अनुदानको मल कृषकलाई प्रदान गर्दै आएको थियो। दुई पटक झापास्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको कार्यालय पुगेर फर्किएको फुङलङस्थित सूर्योदय कृषि सहकारी संस्थाका सचिव झकमणि दाहालले बताए। ‘गाउँका लागि आवश्यक मलको विवरण संकलन गरेर झापासम्म पुग्यौं,’ दाहालले भने, ‘माथिबाटै आएको छैन भनेर पठाए।’

केन्द्रबाटै मल नआएको कृषि सामग्री कम्पनी झापाका सूचना अधिकारी टुडु बताउँछन्। उनका अनुसार इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई भेगमा गत वर्ष एक हजार २५८ मेट्रिक टन युरिया मल खपत भएको थियो। त्यसमध्ये इलाममा ७९७, ताप्लेजुङमा ३२३, पाँचथरमा ९० र तेह्रथुममा ५३ मेट्रिक टन खपत भएको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here