घैलाडुब्बामा जनकवि गोकुल जोशी जयन्ती

0
1419

बिर्तामोड।

गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्र घैलाडुब्वाको आयोजनामा जनकवि गोकुल जोशीको ९०औं जन्मजयन्ती मनाइएको छ ।

गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष कमल गुरागाँईको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य तथा आख्यानकार सरोज ओली र प्राज्ञ यज्ञराज प्रसाईंको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई साहित्यकारको रुपमा नगद राशी रू. १५ हजारसहित दोसल्ला, फूलमाला अविरटीका र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी शिक्षासेवी तथा सामाजिक व्यक्तित्वको रुपमा हरिचरण बानियाँलाई सम्मान पत्र, दोसल्ला, फूलमाला र अविरटीकाद्वारा सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गोकुल जोशीलाई आफ्नो घरमा आश्रय दिएर उनलाई खाना खानदिने अग्रज व्यक्तित्व कौशिलादेवी पोखरेललाई सम्मानपत्र, दोसल्ला, फूलमाला र अविरटीकाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु मध्ये सुमित्रा वाङ्देल चेलीको परिचय स्रष्टा भवानी क्षेत्रीले गराएकी थिइन् भने सम्मानपत्र वाचन कवि मायामितु न्यौपानेले गरेकी थिइन् । त्यस्तै हरिचरण बानियाँको सम्मानपत्र आख्यानकार पुण्यप्रसाद खरेलले र सम्मानपत्र वाचन कवि हरिनारायण भट्टराईले गरेका थिए भने कौशल्यादेवी पोखरेलको सम्मान–पत्र वाचन देवीचरण भण्डारीले गरेका थिए ।

सम्मानित व्यक्तिहरुको छनौट प्राज्ञ यज्ञराज प्रसाईं संयोजक, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी र जनकवि गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्रका सदस्य देवीचरण भण्डारी सदस्य रहेको तीन सदस्यीय स्रष्टा छनौट समितिले गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्माले मन्तव्यसहित कविता पनि वाचन गरेकी थिइन् भने सरोज ओलीले गोकुल जोशीको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईं, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्र्रौला, सम्मानित व्यक्तित्वहरु सुमित्रा वाङ्देल चेली र हरिचरण बानियाँले शुभकामनामन्तव्य राखेका थिए । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले मन्तव्यसहित गोकुल जोशीको गीत प्रस्तुत गरेका थिए भने कनकाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कवि मायामितु न्यौपाने लगायतका साहित्यकारहरुले कविता वाचन गरेका थिए । जनकवि गोकुल जोशीको स्मृतिमा घैलाडुब्बामा गोकुल जोशी स्मृति भवन निर्माण गरिने लक्ष्य रहेको गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्रका सचिव त्रिलोचन संग्रौलाले जानकारी दिए ।
त्यस्तै घैलाडुब्बाबाट बिर्ता बजार जाने बाटोलाई गोकुल जोशी मार्ग नामकरण गरिएको उनले बताए । उक्त बाटो जनकवि गोकुल जोशीकै सक्रियतामा बनाइएको बताइएको छ । कार्यक्रममा नरहरि न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन देवीचरण भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here