झापाका स्थानीय तहका जनप्रतिनिधिको साझा प्रतिबद्धता

0
380

बिर्तामोड।

झापाका स्थानीय तहका जनप्रतिनिधिले अब बन्ने नीति कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वका विषयमा जनप्रतिनिधिहरुले मंगलबार बिर्तामोड–२ चारपानेमा गहन छलफल गर्दै आगामी दिनमा अझ प्राथमिकताका साथ उक्त सवाललाई सम्बोधन गर्ने बताएका हुन् । स्थानीय तहमा लक्षित वर्गको सार्थक सहभागितासहित लैङ्गिक उत्तरदायी बजेट निर्माणमा भूमिका निर्वाह गर्ने उनीहरुले बताए ।

‘झापाका सबै स्थानीय सरकारले आफ्ना पालिकाका नागरिकको विकास, समृद्धि र सामाजिक न्याय प्राप्तिका लागि गर्दै आएको कार्य र नागरिकको अधिकारलाई सम्मान गर्दछौं’ – जनप्रतिनिधिद्वारा व्यक्त साझा प्रतिबद्धतामा भनिएको छ– ‘समाजमा आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख, पिछडावर्ग र पछाडि पारिएको समुदायलाई सामाजिक न्याय प्रत्याभूत गर्नेछौं ।’ उनीहरुको विकास, समृद्धि र सशक्तिकरणका लागि लैङ्गिक तथा सामाजिक समावेशीकरणका सिद्धान्तलाई सम्मान र सम्बोधन गर्न सदैव अग्रसर हुने जनप्रतिनिधिको भनाइ छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले स्थानीय सरकारमा भइरहेको अभ्यास र अनुभव सुनाउँदै स्थानीय तहका कार्यक्रम लैङ्गिक तथा सामाजिक समावेशीकरण मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले त्यस्ता कार्यशालालाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझाव समेत दिएका थिए ।

त्यस्तै कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापा, झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले समेत आ–आफ्नो स्थानीय तहमा पूर्ण लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था ग्यारेन्टी गरिने बताए ।


बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौला, वडासदस्य तारा भट्टराई, बुद्धशान्ति–४ का वडाध्यक्ष बुद्धिमान लिम्बू, बिर्तामोडकी कार्यपालिका सदस्य द्रौपदी गणेश लगायतले समेत आ–आफ्नो क्षेत्रबाट लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्थामा सुधार गरी समतामुलक समाज निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

नेकपाकी नेतृ लक्ष्मी न्यौपाने सरुको अध्यक्षतामा भएको छलफलको सहजीकरण काठमाडौंका गोविन्दराज पौडेलले गरेका थिए । संवाद समूह, महिला समूह झापाको संयोजनमा भएको ‘स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्व’ विषयक सरोकारवालाबीचको कार्यशालामा कांग्रेस नेतृ सुशिला ढकालले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

राप्रपाकी नेतृ शारदा रिजालले स्वागत, संघीय समाजवादी पार्टीकी नेतृ संगीता रौनियारले सञ्चालन गरेको कार्यक्रममा साझा प्रतिबद्धता वाचन सामाजिक अभियन्ता कञ्चना सिटौलाले गरेकी थिइन् । कार्यशालामा सबै स्थानीय तहका जनप्रतिनिधिसँगै विभिन्न राजनीतिक दल, संस्थाका महिला नेतृ, सञ्चारकर्मी महिलाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here