अंग्रेजी त्यागेर संस्कृत रोज्दै विद्यार्थी

0
916

संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढ्दो छ ।

अध्ययनपछि रोजगारीको सुनिश्चितता र शुलभ शिक्षा प्रणालीका कारण विद्यार्थी अंग्रेजी शिक्षा त्यागेर संस्कृत विद्यालयमा धमाधम भर्ना हुन थालेका हुन् । सरकारले वैशाख महिनालाई बिद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका बेला झापामा रहेका गुरुकुल विद्यालयमा संस्कृत शिक्षा लिने विद्यार्थीको संख्या बढेको पाइएको छ ।

भर्ना अभियान सफल बनाउन झापासहित देशभरका सामुदायिक बिद्यालयले घर–घरमा गएर विद्यार्थी संकलन गरिरहेका बेला झापाको चारपानेमा रहेको साङ्गबेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रममा संस्कृत पढ्न आउने विद्यार्थीको चाप उच्च रहेको विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले बताए । उनले भने– ‘हाम्रोमा मात्र होइन जिल्लामा रहेको सबै गुरुकुलमा संस्कृत पढ्न आउने बिद्यार्थीको चाप अहिले बढेको छ ।’

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार जिल्लामा अहिले २३ वटा गुरुकुल विद्यालय सञ्चालनमा छन् । सबै गुरुकुलमा संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीको चाप उच्च रहेको बताउँदै विवेकाश्रमका प्रधानाध्यापक न्यौपानेले भने– ‘बोर्डिङ पढ्ने विद्यार्थी अत्यधिक मात्रामा संस्कृत पढ्न गुरुकुल आउन थालेपछि प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरेका छौं ।’

शैक्षिकसत्र २०७६का लागि भर्ना अभियान चलिरहेका बेला ३५ जना नयाँ विद्यार्थी गुरुकुलमा भर्ना भएको र त्यसमा झण्डै तीसको हाराहारीमा बोर्डिङमा पढ्ने विद्यार्थी भर्ना भएको प्रधानाध्यापक न्यौपानेले बताए । उनले भने– ‘माध्यमिक शिक्षा अध्ययन अध्यापन हुने यस विवेकाश्रममा संस्कृत विषय कक्षा चारबाट मात्रै पढाइ हुँदै आएको छ ।’ विवेकाश्रममा संस्कृतसहित अन्य विषय पनि पठनपाठन हुने भएकाले गुरुकुल शिक्षाका लागि विवेकाश्रम विद्यार्थीको रोजाइमा परेको बताइन्छ । आवाससहित शिक्षा प्रदान गरिने भएपछि झापासहित विभिन्न जिल्लाका हाल एक सय ५० भन्दा बढी बिद्यार्थी सो विद्यालयमा गुरुकुलीय शिक्षा लिइरहेका छन् ।

आधुनिक तथा प्राविधिक शैक्षिक प्रणालीको बहस भइरहेका बेला झापामा गुरुकुल शिक्षा प्रणालीप्रतिको आकर्षणले पूर्वीय संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । संस्कृत विद्यालयमा अध्ययन गर्दा पारिवारिक बातावरण हुने भएकाले अभिभावकले पनि संस्कृत शिक्षालाई प्राथमिकता दिएको बताइन्छ । सरकारले पनि केही बर्षयता संस्कृत विषयको पाठ्यक्रमको तयारी र व्यवस्थापनमा चासो देखाएका कारण यस्ता विद्यालय तथा गुरुकुलहरु सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

झापा देशमै सबैभन्दा बढी गुरुकुल भएको जिल्ला हो भने बिर्तामोड–२स्थित चारपानेको विवेकाश्रम साङ्गवेद संस्कृत माध्यमिक विद्यालय झापाकै सबैभन्दा पुरानो संस्कृत विद्यालय हो । २०२८ सालमा स्थापना भएको विवेकाश्रम तथा साङ्गवेद माद्यमिक विद्यालय समाजकै आस्थाको केन्द्रका रुपमा स्थापित छ । विद्यालय भने दाताकै भरमा सञ्चालन हुँदै आएको विवेकाश्रमका प्राचार्य न्यौपाने बताउँछन् ।

उनी भन्छन्– ‘२०३२ सालदेखि विद्यालयले औपचारिक रुपमा पठनपाठन शुरु ग¥यो, त्यसयता विवेकाश्रम दाताकै भरमा चलेको छ ।’ ‘कसैले विद्यार्थीलाई एक दिनको भोजन गराइदिन्छन्– न्यौपाने भन्छन्– ‘५१ सय रुपैयाँ दिएपछि एक दिनको भोजन गराएको मानिन्छ, दाताले दिएको रकम हामी विद्यार्थीको भोजनका लागि व्यवस्थापन गर्छौं  ।’

विद्यालयले अक्षयकोष समेत खडा गरेको छ । अक्षयकोष दाताहरुले २१ सय रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने गरेका छन् । त्यसबाट प्राप्त ब्याजले पूजाआजा गरिनुका साथै विद्यालय सञ्चालन खर्च र शिक्षकलाई तलब दिइने न्यौपानेले बताए । उनले भने– ‘विद्यालय मुष्ठीदानबाट सुरुवात भएको हो । यो क्रम अझै निरन्तर चलिरहेकै छ । ‘सरकारबाट न्यून सहयोग छ, केही शिक्षकको मात्र दरबन्दी छ ।’

गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो । यो प्रणालीमा बद्यार्थी गुरूको आश्रममा रहेर विभिन्न विषयमा पारङ्गत नहुञ्जेल अध्ययन गर्छन् । यस्तो शिक्षा दिने गुरुकुलको संख्या देशभर ६० वटामात्रै छन् । झापामा गुरुकुलीय पद्धतिमा आधारित केहीले विभिन्न स्थानमा विद्यालय सरह नै कक्षा सञ्चालन गरिरहेका छन् । वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार, विवेकाश्रम साङ्गवेद संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत विद्यापीठ, अर्जुनधारा, कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रम महेशपुर झापाका नाम चलेका गुरुकुलमा पर्छन् ।

पण्डित बन्ने सपना बोकेर संस्कृत पढ्दै

झापाको वुद्धशान्ति–१ होक्सेका तुलसी तिम्सिना कक्षा ५मा पढ्दापढ्दै अभिभावकको सल्लाह अनुसार संस्कृत शिक्षा लिन दुई वर्ष अघि विवेकाश्रम आएका हुन् । हाल वेद व्याकरण अध्ययन गरिरहेका तिम्सिना उच्च शिक्षा हुँदै आचार्यसम्मको अध्ययन गरेर व्यासमा बस्ने सपना बोकेर दिनरात मेहनत गरिरहेका छन् । उनले कक्षा ४ देखि संस्कृत शिक्षा अध्ययनलाई निरन्तरता दिए । हाल उनी कक्षा आठमा पढ्छन् ।

उनी जस्तै मोरङको बूढीगंगा नगरपालिकाका दिवस भट्टराई तीन वर्षदेखि संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । सप्तरीको एक निजी विद्यालयमा अध्ययनरत् भट्टराई अंग्रेजी शिक्षा त्यागेर गुरुकुलीय शिक्षा लिन झापा आएका हुन् । इलामको देउमाई नगरपालिकाका डिल्लीरमण सापकोटा पनि अहिले चण्डी, रुद्री पढ्न सक्ने भएका छन् ।

मामाले पनि गुरुकालबाटै संस्कृत शिक्षा लिएकाले आफू जितपूर माविमा अध्ययन गर्दागर्दै चार वर्ष अघि झापा आएको डिल्लीरमणले बताए । उनले भने– ‘संस्कृत पढ्दा मन, शान्त हुँदोरहेछ, शरीरमा उत्पन्न हुने क्रोध समेत हटेर जाँदो रहेछ । शुरुमा पढ्न कठिन भए पनि अहिले संस्कृत पढ्न मलाई सहज छ, भविष्यमा व्यासमा वसेर पुराण भन्न सक्ने हुन्छु ।’

उनीहरु मात्र होइन खोटाङको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ६मा पढ्दापढ्दै सुनसरीको इटहरीका भूवन सुवेदी पनि गुरुकुलीय शिक्षा आर्जनका लागि झापा आएका छन् । उनी अहिले विवेकाश्रम साङ्गवेद संस्कृत विद्यालयमा कक्षा आठमा अध्ययनरत् छन् । उनको पनि सपना व्यासमा बसेर पुराण बाचन गर्ने नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here