मेची भन्सारले राजश्व लक्ष्य पूरा गरेन

0
1617

बिर्तामोड। चालू आर्थिक वर्षमा मेची भन्सार कार्यालयको लक्ष्य अनुसारको राजश्व संकलन नहुने भएको छ ।
सरकारले मेची भन्सारलाई आर्थिक वर्ष ०७५÷०७६ मा १२ अर्ब, ८२ करोड, ६१ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइए पनि जेठ १५गते सम्ममा ९ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।

भन्सार कार्यालयबाट नियमित आयात हुने बस्तुको आयात घटेकाले राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको उनले बताए । उनका अनुसार यस वर्ष कोइलाको आयात पूर्ण रुपमा ठप्प भएको छ । भारतका आसाम लगायतका क्षेत्रबाट सबैभन्दा धेरै कोइला आयात भए पनि यो वर्ष विभिन्न समस्याका कारण पूर्वी नाकाबाट कोइला आयातमा समस्या सिर्जना हँुदा राजश्व संकलनमा कमी भएको भन्सार प्रमुख अर्यालको भनाइ छ ।

सबैभन्दा बढी असोज महिनामा मात्र २ अर्ब १३ करोड ८३ लाख राजश्व असुली भएको भन्सार प्रमुख अर्यालले बताए । चाडपर्वको समयमा अनुमानित भन्दा बढी सामान आयात हुँदा राजश्व संकलन बढे पनि अन्य समयमा राजश्व अपेक्षित संकलन नभएकोले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको भन्सार प्रमुख अर्यालले बताए ।

गत आर्थिक वर्ष २०७४÷०७५मा मेची भन्सार कार्यालयलाई ९ अर्ब २० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएकोमा त्यस वर्ष लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख राजश्व संकलन भएको थियो । यो लक्ष्यको १११ प्रतिशत भएको उनले बताए ।

उक्त वर्षको राजश्व आर्थिक वर्ष २०७३÷०७४को तुलनामा ५६ प्रतिशतले वृद्धि भएको थियो । गत वर्षको तुलनामा राजश्व बढी संकलन भए पनि यो बर्षको लक्ष्यलाई भेट्न नसकेको अर्यालले बताए । क्षमताभन्दा लक्ष्य उच्च भएकाले लक्ष्य अनुसार राजश्व संकलन गर्न समस्या भएको भन्सार प्रमुख अर्यालको भनाइ छ ।

अर्थ मन्त्रालयले गतआर्थिक वर्षको तुलनामा ३९.२७ प्रतिशत लक्ष्य वृद्धि गरेर मेची भन्सारलाई जिम्मेवारी प्रदान गरेको थियो । गतवर्षको यही अवधिमा संकलित राजश्वभन्दा चालूआर्थिक वर्षमा १०.२५ प्रतिशतले वृद्धि भए पनि अबको दुई महिनामा लक्ष्य पूरा नहुने देखिएको भन्दै भन्सार प्रमुख अर्यालले भने– लक्ष्य घटाउने गृहकार्यमा लागेका छौं, लक्ष्य पूरा नहुनुको कारण कोइला आयात घट्नु नै हो ।

मेची भन्सारले विभागको स्थलगत तथा अनलाईन अनुगमनबाट प्राप्त निर्देशन तथा सुझावलाई कार्यान्वयन गरेको भन्सार प्रमुख आर्यालले बताए । यसैगरी बजार मूल्यलाई आधार मानेर बरामद भएका सामग्रीको मूल्याकंन गर्ने परिपाटी शुरु गरिएको प्रमुख अर्यालले जानकारी दिए । उनका अनुसार राजश्व संकलनको लक्ष्य पूरा नहुने अवस्थामा पनि हालसम्मकै सबैभन्दा धेरै मूल्यकोे सामग्री भन्सारले लिलाम गरेको छ ।

६० प्रतिशतभन्दा बढी राजस्व पेट्रोलियम पदार्थबाट संकलन भएको छ । गतवर्षको तुलनामा कोइलाबाट ३.५ प्रतिशत, क्लिङ्करमा ४६.९ प्रतिशत आयात घटेको मेची भन्सार कार्यालयका भन्सार प्रमुख आर्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here