अर्जुनधारामा ट्याक्टर, ट्रक र टिपरलाई टाइम कार्ड

0
996

बिर्तामोड। अर्जुनधारा नगरपालिकाले ट्याक्टर, ट्रक र टिपरलाई टाइम कार्ड लागू गर्ने तयारी गरेको छ । ट्याक्टर व्यवसायी, जनप्रतिनिधि लगायतसँग भएको बैठकले टाइम कार्ड लागू गर्ने निर्णय गरेको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए ।

अर्जुनधारा नगरपालिकाका मुख्य सडकमा विद्यालय समयलाई मध्यनजर गर्दै नगरसभाले पारित गरेपछि साउन १ गतेदेखि टाइम कार्ड लागू गर्ने निर्णय गरेको नगर प्रमुख रानाले बताए ।

बिद्यार्थी, कर्मचारीलगायतलाई सहज हुनेगरी बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म, अपरान्ह ३ः३० बजेदेखि ४ः३० बजेसम्म र राति ९ः३० बजेदेखि बिहान ५ बजेसम्म उक्त टाइम कार्ड लागू हुने नगर प्रमुख रानाले जानकारी दिए । उक्त टाइम कार्ड उल्लंघन गरे एक हजार रुपैयाँ जरिवाना लिने पनि निर्णय गरेको बताइएको छ ।

त्यस्तै, बैठकले नदीजन्य सामग्रीको उत्खनन् तथा ओसारपसारमा सरकारले बर्षेनि प्रतिबन्ध लगाउँदै आएको असार, साउन र भदौमा जबरजस्ती गरेको पाइएमा जरिवाना गरिने नगर प्रमुख रानाले बताए । पहिलोपल्ट फेला परे ६ हजार, दोस्रोपटकमा ८ हजार, तेस्रोपटकमा १० हजार जरिवाना गर्ने र चौथोपटक पनि फेला परे सवारीसाधन जफत गरी यातायात व्यवस्था कार्यालय मेचीमा कारबाहीका लागि पठाउने निर्णय गरेको नगर प्रमुख रानाले बताए ।

बैठकले व्यवसायीले निषेधित समय अगावै घाटगद्दी गरेको नदीजन्य सामग्री प्रमाणित गर्ने व्यवस्था गरेको र बर्खा लाग्नु अगावै गरिएको घाटगद्दीको नगरपालिकाले प्रमाणित गरेको खण्डमा ओसारपसार गर्न मिल्ने नगर प्रमुख रानाले जानकारी दिए । त्यस्तै नगरमा बढी खोलानाला भएकाले पनि दैवी बिपत्तिबाट बच्नका लागि स्वनियमन गर्न जरुरी रहेको नगर प्रमुख रानाले बताए ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा बसेको बैठकमा अर्जुनधाराका ट्याक्टर व्यवसायी गणेश प्रधानले विद्यालय समयमा लागू गरिने टाइम कार्डको स्वागत गरे । त्यस्तै शनिश्चरे प्रहरी कार्यालयका इञ्चार्ज राजन खड्काले सवारीसाधनबाट हुने ध्वनि प्रदुषणका बारेमा गाउँबाट बढी गुनासो आउने गरेको बताएका थिए ।

त्यस्तै, वडा नम्बर ९का रुद्र न्यौपानेले बिहानको ३ बजेदेखि नै सवारीसाधन चलेकाले बढी प्रदुषण भएको बताए । बैठकमा सहभागीले लाइसेन्स नभएका सवारी चालक ट्याक्टरमा बढी देखिएको बताउँदै त्यसको नियमन गर्न पनि आग्रह गरेका थिए । बैठक अर्जुनधारा नगरपालिकाका प्रमुख रानाको अध्यक्षतामा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here