दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित

0
599

कास्की । विश्व दुग्ध दिवसको अवसरमा पोखरामा शनिबार कृषक र सञ्चारकर्मी सम्मानित भएका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पोखरामा क्रियाशील युवा पत्रकार सन्देश श्रेष्ठलाई नगद रु ११ हजार १११ तथा सम्मानपत्रसहित सम्मान गरेको हो ।

नागरिक दैनिकमा कार्यरत श्रेष्ठले किसानको पक्षमा कलम चलाएर कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गरेकाले सम्मान गरिएको समाजका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

त्यसैगरी समाजले लामो समयदेखि कृषि कार्यमा आबद्ध भएर योगदान गरेको भन्दै कृषकहरू जीवनकुमार अधिकारी, ओमप्रकाश अधिकारी, शोभाखर भण्डारी र कृषि प्राविधिक शेरबहादुर मगरलाई समेत नगद रु ११ हजार १११ सहित सम्मानपत्रले सम्मान गरेको थियो ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी, समाजका अध्यक्ष तिमिल्सिनालगायतले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सचिव दवाडीले सरकारले उत्पादनको आधारमा कृषकलाई अनुदान दिने र बाच्छाबाच्छी बेवारिसे छाड्ने र पाडापाडी काटेर खाइहाल्ने प्रवृत्ति अन्त्यविरुद्ध पाडापाडी वा बाच्छाबाच्छी हुर्काउनेलाई पशुको जन्मदर्ताका आधारमा सरकारले प्रतिगोटा रु १० हजार अनुदान दिने तयारी गरेको बताउनुभयो ।

दुग्ध व्यवसायी सङ्घ कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेलले गण्डकी प्रदेशभित्र वार्षिक एक लाख ७४ हजार र मासिक रूपमा १५ हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here