लक्ष्मी माविको ताला नखुल्दा बिद्यार्थी–शिक्षक समस्यामा

0
579

अर्जुनधारा। झापाको अर्जुनधारा–६स्थित लक्ष्मी माविमा भएको तालाबन्दी नखुल्दा शिक्षक तथा विद्यार्थीलाई कठिनाई भएको बताइएको छ ।

प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ता तथा सहायक प्रधानाध्यापक सुवास डाँगीको खारेजीको माग राखेर पूर्वविद्यार्थी भीष्म पौडेलको संयोजकत्वमा गठित संघर्ष समितिले जेठ १२ गते बिद्यालयमा तालाबन्दी गरेको थियो । जेठ १४ गते अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको पहलमा भएको सर्वपक्षीय छलफलमा तालाबन्दी खुलाई पठनपाठन सुचारु गर्ने निर्णय भएको थियो । उक्त निर्णय हालसम्म कार्यान्वयन नहुँदा विद्यालयमा थप अन्यौल सृजना भएको छ ।

निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न नगरपालिकाले वडाध्यक्ष लोकनाथ गौतमलाई शुक्रवार पत्राचार गरेको थियो । नगरपालिकाको सो पत्रमा आवश्यक सहयोगका लागि शनिश्चरे प्रहरीलाई बोधार्थ दिएको छ ।

‘लक्ष्मी माविमा भएको तालाबन्दी तथा केही समय यता पठनपाठनमा उत्पन्न कठिनाईको सम्बन्धमा यस कार्यालयमा जेठ १४मा भएको सर्वपक्षीय छलफलबाट विद्यालयमा लगाइएको तालाबन्दी सात दिनभित्र खुलाई शान्ति अमन चयनको वातावरण बनाउने निर्णय भएको छ’– पत्रमा भनिएको छ– ‘तँहाबाट उक्त बातावरण निर्माणमा आवश्यक समन्वय एवम् कार्यान्वयन गर्नु हुन निर्णयानुसार अनुरोध छ ।’ उक्त विषयमा वडाध्यक्ष गौतमले आफूलाई उक्त विषयको जिम्मेवारी प्राप्त भएको बताउँदै सम्बन्धित पक्षसँग समन्वय गरी एक दुई दिनभित्रमै निकास निकाल्ने जानकारी दिए । तोकिएको समयसीमा अगावै आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्ने बताउँदै वडाध्यक्ष गौतमले अबका दिनमा विद्यालयमा त्यस्तो अवस्था आउन नदिने समेत जनाए ।

नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा तालाबन्दी खोल्नेसँगै तीन वटा निर्णय भएको थियो । जसमा विद्यालय व्यवस्थापन समिति गठनका लागि नगरबाट रोकिएको प्रक्रियालाई सुचारु गर्न फुकुवा गर्ने, विद्यालयको कक्षा ११को भर्नापछि सम्पूर्ण अभिभावकको सूचीकरण गरी शिक्षा शाखा तथा नगर प्रमुखलाई उपलब्ध गराई नयाँ निर्वाचन प्रक्रिया थाल्ने प्रक्रियाका लागि पत्राचार गरी काम अघि बढाउने समेत रहेको छ ।

विद्यालयको पुस्तकालय तथा लेखा र शिक्षकहरुको साझा कार्यालय कक्षमा तालाबन्दी भएको छ । जसका कारण विद्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै पठनपाठन अवरुद्ध भएको निमित्त प्रधानाध्यापक बालकृष्ण चम्लागाईले बताए । निमित्त प्रअ चम्लागाईका अनुसार तालाबन्दीले बिद्यालय भर्ना र केही विद्यार्थीको पाठ्यपुस्तक बितरण समेत अवरुद्ध भएको छ ।

संघर्ष समितिले गतबर्ष कक्षा ११को परीक्षाको सहायक प्रधानाध्यापक डाँगी आफंै सहायक केन्द्राध्यक्ष बसी आफैं परीक्षा लेखेको, प्रधानाध्यापक गुप्ताले बिद्यालय व्यवस्थापन समिति गठनमा आलटाल गरेको लगायतका आरोपसहित आन्दोलनको घोषणा गरेको थियो । गुप्ता गत जेठ ९ गतेबाटै बिदामा छन् । उक्त विषयको अध्ययन गर्न शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतको संयोजकत्वमा समिति नै बनाइएको थियो । समितिले समेत आफ्नो प्रतिवेदन बुझाइसकेको बताइएको छ ।

संघर्ष समितिले गतबैशाख २०बाट नै आन्दोलन अघि बढाएको थियो । नगरपालिकामा तालाबन्दी खोल्ने लगायतका विषयमा निर्णय भएको सर्वपक्षीय छलफलमा संघर्ष समितिको तर्फबाट संयोजक पौडेल लगाायतको टिमनै उपस्थित थियो । तर, उनले निर्णयमा भने हस्ताक्षर गर्न मानेनन् । संघर्ष समितिको माग पूरा नभएका कारण हस्ताक्षर नगरेको र माग पूरा नहुञ्जेल ताला नखोल्ने संयोजक पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here