सहारा र कन्काईबीच एकीकरण

0
1589

बिर्तामोड। सहारा नेपाल सहकारी संस्था र कन्काई बहुमुखी सहकारी संस्थाबीच एकीकरण भएको छ । बिर्तामोडमा एक समारोहको आयोजना गर्दै दुई सहकारीबीच औपचारिकरुपमा एकीकरण भएको हो । सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेल र कन्काई बहुमुखी सहकारीका अध्यक्ष जगन्नाथ शर्मा खनालले दुबै संस्था एकीकरण भएको घोषणा गरेका थिए ।

सो समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य एकराज कार्कीले बधाई तथा शुभकामना दिँदै राज्यको नीति अनुरुप दुई सहकारीबीच एकीकरण भएर दर्बिलो सहकारी भएकोमा खुशी व्यक्त गरेका थिए । उनले भने– ‘मुलुककै पहिलो सहकारी बन्न सफल सहारा नेपाल र कन्काई बहुमुखी सहकारी संस्थाबीच भएको एकीकरण सुखद् पक्ष हो ।’

वृद्ध, महिला, युवा, व्यापारी, शिक्षाका क्षेत्रमा समेत सहाराले सरकारले गर्न नसकेको काम गरेर देखाएको र गरीबहरुलाई आवासको कार्यक्रम शुरु गरेर मानवीय क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको भन्दै उनले प्रशंसा व्यक्त गरे । उनले भने– ‘हिजोको दिनमा ऋण माग्न साहुमाजन कहाँ घीऊका ठेकी लिएर जानुपर्ने अवस्था थियो । तर, आज अब त्यो अवस्था रहेन सहकारी क्षेत्रले विपन्न समुदायको जीवनस्तर उकास्न सहुलियत दरमै ऋण प्रवाह गर्न थालेका छन् । धेरैलाई स्वरोजगार बनाएको छ । यो सुखद् पक्ष हो । अब सहकारीले उत्पादनका क्षेत्रमा पनि काम गर्नुपर्ने देखिन्छ ।’

प्रदेश सरकारले उद्योगधन्दा र कलकारखानाका क्षेत्रमा लगानी गर्न सहकारीका लागि छुट्टै प्रदेश नीति बनाउने तयारीमा रहेको बताउँदै केही महिनाभित्रै यस्तो नीति बनाएर सहकारीको भूमिकालाई अझ फराकिलो बनाउने कार्कीले बताए । कार्यक्रममा सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहाराको वस्तु र सेवाका विषयमा जानकारी दिएका थिए ।

१० हजार युवालाई रोजगार दिने महान अभियानका साथ सहारा नेपाल अघि बढेको र प्रदेश १ का छ वटा जिल्लामा यो सहकारीका ६२ वटा सेवाकेन्द्र सञ्चालनमा रहेको जानकारी गराएका थिए । एक लाख ४१ हजार छ सय ४५ शेयर सदस्य रहेको सहारा नेपाल २०५२ सालमा स्थापना भएको गिरीले बताए । एकीकरण समारोहमा कन्काई बहुमुखी सहकारी संस्था २०५४ सालमा स्थापना भएको जानकारी गराइएको थियो ।

कन्काईमा पाँच सय ६१ शेयर सदस्य रहेको बताइन्छ । कार्यक्रममा कन्काईका सल्लाहकार संयोजक मोहन विश्वकर्मा, बिर्तामोड नगरापालिकाका वडाध्यक्षहरु अग्निप्रसाद पाण्डे, कुलप्रसाद संग्रौला लगायतको आतिथ्य रहेको सेवाकेन्द्र प्रमुख घनश्याम रायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here