बिर्तामोड।

झापा बिद्रोहका शहीद नेत्र घिमिरेको स्मृतिमा बिर्तामोड नगरपालिका–७ गोलधापमा निर्माण थालिएको शहीद नेत्र पार्कले पूर्णता पाउने भएको छ ।
पाँच वर्ष अघि घिमिरेको स्मृतिमा निर्माण थालिए पनि आर्थिक अभावका कारण पार्कले पूर्णता पाएको थिएन । तर, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गर्न योजना छनौट भएसँगै पार्कले पूर्णता पाउने भएको हो । संघीय सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहेकी पवित्रा निरौला खरेलको विशेष पहलमा योजना छनौट भएको निरौलाका स्वकीय सचिव लीला आचार्यले जानकारी दिए ।
सरकारले समेत सयवटा पर्यटकको सूचीमा नेत्र पार्कलाई राखेपछि संघीय सासंद निरौलाको पहलमा योजना छनौट भएको बताइन्छ । पार्क निर्माणका लागि सरोकारवालाले समेत चासो देखाएपछि ५० लाख रुपैयाँ वजेट विनियोजनका लागि पहल भएको थियो– सांसद निरौलाले भनिन्– ‘पार्क निर्माणका लागि पाँच वर्षदेखिको स्थानीयको अधुरो सपना अब पूरा हुन्छ ।’
झापा बिद्रोहका क्रममा घिमिरेसहित वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुँइकेल र नारायणप्रसाद श्रेष्ठलाई २०२९ साल फागुन २१ ग्ते गोली हानी हत्या गरिएको थियो । उनीहरुलाई इलाम कारागार सार्ने बहानामा इलामको दानावारीस्थित सुखानीमा गोली हानी हत्या गरिएको थियो । झापा बिद्रोहका योद्धा घिमिरेसहित पाँचै जनालाई सरकारले ४३ वर्षपछि शहीद घोषणा गरेको थियो ।
२००३ सालमा तेह्रथुमको आठराईमा जन्मिएका घिमिरे झापाको गरामनीमा बसाइँ सरी आएका थिए । २०२४ सालमा मेची कलेजमा भर्ना भएका घिमिरे प्रगतिशील बिद्यार्थी आन्दोलनमा होमिएका थिए । २०२६ सालदेखि पार्टीमा पूर्णकालीन भई काम थालेका उनी २०२९ साल पुस १४ गते पक्राउ परेका थिए । भुटानी शरणार्थी तेस्रो देश पुर्नवास भएपछि पार्क निर्माणको काम अघि वढाइएको थियो ।
झापा आन्दोलनका शहीदको नाममा पार्क निर्माण गरेर शहीदको वलिदानप्रति सम्मान र यस ठाउँको विकासका लागि समेत पार्क निर्माण थालिएको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् ।
निचाझोडा सामुदायिक वनको करिव २५ हेक्टर क्षेत्रफलमा पार्क निर्माणका लागि प्रदेश सरकारले समेत ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताइन्छ । पार्कको डीपीआएरका लागि पर्यटन मन्त्रालयले थप १५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । पार्कमा वनभोजस्थल र पोखरी निर्माण भएको बताइएको छ । अहिले प्रवेशद्वारको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
भुटानी शरणार्थीले छाडेर गएको भौतिक संरचनालाई समेत स्मृतिको रुपमा राख्न पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । पार्कको निर्माणपछि स्थानीय तथा बाह्य पर्यटकको आगमनले यस क्षेत्रको थप विकास भएर जाने अपेक्षा गरिएको छ ।
योसंगै सांसद निरौलाकै पहलमा अर्जुनधारा नगरपालिकामा अर्जुनधारा पर्यटकीय क्षेत्र निर्माणका लागि समेत ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै अर्जुनधाराकै सुखानी पार्कका लागि २० लाख रुपैयाँ विनियोजन भएको बताइएको छ ।
यता बिर्तामोड–२मा रहेको शहीद स्मृति प्रतिष्ठानको अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । योसंगै अर्जुनधारा–१०मा रहेको जलकन्या मन्दिर निर्माण र सौन्दर्यीकरणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यता बिर्तामोड भएर बग्ने अन्धुवा खोलाको शौन्दर्यीकरणका लागि समेत रकम विनियोजन गरिएको छ । खोलाको दुर्वतर्फ हरियाली पार्क निर्माण र वाटो वनाउन तथा ठाउँ–ठाउँमा ड्याम बाँधेर अन्धुवा ढल शुद्धिकरण गर्दै निकट भविष्यमा वोटिङका लागि समेत सम्भाव्यता अध्ययन भइरहेको निरौंलाले बताइन् । जसका लागि पहिलो चरणको काम सम्पन्न गर्न १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । पहिलो चरणमा खोलालाई सुन्दर र हरियाली बनाउन वृक्षरोपण गर्ने र खोला सफा गरिने बताइन्छ । संघीय सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहेकी खरेलले शहीदको बलिदानीलाई उच्च सम्मान गरेको बताइन्छ ।
सांसद खरेलका छनौटमा परेका ६ योजनामध्ये तीन योजना शहीदका नाममा छनौट भएका छन् । बिर्तामोड – ७ मा नेत्र घिमिरे पार्क । उनले बिर्तामोड–२मा शहीद स्मृति प्रतिष्ठान र अर्जुनधारामा सुखानी पार्कका लागि योजना छनौट गर्दै बजेट बिनियोजन गराएकी छिन् । शहीदको नाममा मात्रै सांसद निरौलाको बजेट ८२ लाख रहेको छ ।



























