क्रिकेटमा सट्टाबाजी गर्ने तीन पक्राउ

0
460

झापा।

पछिल्लो समयमा झापासहित देशभर क्रिकेट खेलमा सट्टाबाजीको चलखेल शुरु भएको छ । भारतीय सट्टेबाज (बुकी) का गिरोहसँग मिलेर नेपालका सट्टेबाज (बुकी) हरुले कानूनको धज्जी उडाउँदै क्रिकेट खेलमार्फत करोडौं नेपाली रुपैयाँ भारत पठाउने गरेको खुलेको छ । अहिले विश्वकप क्रिकेटको माहोल तातिएको छ । केही समय अघिमात्र इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) सकिएको छ ।

आइपीएलमा नेपालको तर्फबाट क्रिकेटको बुकी चलाउने गिरोहले विश्वकप क्रिकेटलाई टारगेट बनाएर आफ्नो अवैध धन्दा चलाइरहेको छ । नेपालमा बसेका बुकीहरुले नेपाली जनतालाई लुट्दै भारतीय रुपैयाँमै कारोबार गराउने गर्छन् ।
यसैक्रममा नेपालका बुकीमार्फत सट्टाबाजीको चलखेल झापासहित देशभर बढेलगत्तै नेपाल प्रहरीले काठमाडौंबाट तीन जना सट्टेबाज अर्थात् बुकीलाई गत मंगलबार पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे बस्ने ३६ वर्षीय बज्रप्रकाश लामा, सोही ठाउँका ३० वर्षीय विद्युत प्रकाश लामा र रामेछाप लिखु गाउँपालिका–२ सैपु बस्ने ३३ वर्षीय उमेश कार्की रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडांैको बिजेश्वरी र न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुका साथबाट एक लाख नगदसहित अन्य सामग्री समेत बरामद गरेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुले आइपीएलपछि अहिले विश्वकप क्रिकेटसँगै च्याम्पियनसिप र फुटबलको समेत सट्टाबाजी गराउँदै आइरहेको खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी अनुसन्धानमा राखिएको जनाइएको छ । प्रहरीले काठमाडौंमा पक्राउ गरेको तीन जना नमूना पात्र मात्र हुन् । अहिले झापासहित देशभर क्रिकेटको बुकी चलाउने गिरोह कमाउ धन्दामा लागीपरेका छन् ।

झापामा क्रिकेटको बुकी भद्रपुर, काँकरभिट्टा, बिर्तामोड र दमकबाट सञ्चालन भइरहेको स्रोतको दावी छ । प्रहरीले क्रिकेटको सट्टाबाजी चलाउने गिरोहको व्यक्तिहरुलाई पहिचान गरे पनि उनीहरुलाई पक्राउ गर्न खासै चासो देखाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here