पुरुष र महिला दुवैमा बाँझोपनको समस्या, वैदेशिक रोजगारी मुख्य कारण

0
1162

काठमाण्डौ,

महिलामा पाठेघरको समस्या बढ्नु र युवाको वैदेशिक रोजगारीका कारण नेपालमा बाँझोपनको समस्या बढ्दै गएको डाक्टरले बताएका छन् ।

महिलामा मात्रै नभएर पुरुषमा पनि बाँझोपनको समस्या उत्तिकै देखिएको फर्टिलिटी सोसाइटी अफ् नेपालका अध्यक्ष डाक्टर भोला रिजालले बताउनुभयो । नेपालमा निःसन्तान दम्पतीको संख्या १२ देखि १५ प्रतिशत रहेको छ । यो संख्या धेरै भएको पनि डाक्टरले बताएका छन् । रिजालका अनुसार ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष तथा ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ ।

महिलामा पाठेघर र पाठेघरको नलीमा उच्च समस्या देखा परेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरुमा बाँझोपनको समस्या बढेको पनि डाक्टरको भनाइ छ । विदेशमा काम गर्न जाने कामदारमा तापक्रमका कारण शुक्रकीट उत्पादनमा कमी हुने गरेको देखिएको छ ।

विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन झण्डै तीन महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सक्दैन । महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ । जसले बाँझोपनको समस्या क्रमिक रुपमा बढ्दै जान्छ ।

३० वर्षभन्दा कम उमेर र ४५ वर्षभन्दा बढी उमेरका महिलामा तुलना गर्ने हो भने ४५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या धेरै बढी हुन्छ । महिलाले ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । कुनै एक कारणले मात्र बाँझोपन हुँदैन । बाँझोपन हुने कारण धेरै छन् ।

महिलामा पाठेघरको समस्या बढ्नु र वैदेशिक रोजगारीमा गएका युवाको शुक्रकीटमा कमी देखिनुले बाँझोपनको समस्या अझै बढ्ने देखिएको डाक्टर रिजालले बताउनुभयो । बाँझोपना र यसका चुनौती र समाधानका विषयमा नेपाल र भारतका विज्ञको काठमाण्डौमा अन्तरक्रिया भएको छ । यो अन्तरक्रियाबाट निःसन्तान दम्पतीका लागि थप प्रविधिको विकास र विस्तार गर्न मद्धत पुग्ने पनि उहाँले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here