जातीय विकासका लागि एकजुट भए जनप्रतिनिधि

0
656

घैलाडुब्बा।

विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनैपर्नेमा जोड दिएका हुन् ।

राजवंशी जातिको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पटक शनिबार कनकाई नगरपालिका –९ घैलाडुब्बामा भएको भेलाले जातीय हकहितको लागि एकआपसमा समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश सभामा निर्वाचित झापाका एक मात्र राजवंशी जनप्रतिनिधि पूर्णसिंह राजवंशीले पुरातन सोच बदल्न सकेमात्र परिवर्तन हुने बताए । उनले एकताबद्ध हुँदै लक्ष्य निर्धारण गर्नसके जातीय विकासमा सहयोग पुग्ने धारणा राखे । उनले भने– ‘राजवंशी जातिको विकासका लागि योजना, नीति र भिजनसहित अगाडि बढ्नुपर्छ ।’

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले आफूहरुको राजनीतिक अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले २० बर्ष अघिको राजवंशीहरुको राजनीतिक अवस्थालाई स्मरण गर्दै भने–‘अहिले यो दुरावस्थामा छ । अबको २० बर्ष पछि झन् के हुन्छ होला ?’ उनले भविष्यमा राजवंशीले टिकट नै पाउन गाह्रो पर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे । बाह्रदशीकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले जातीय विकासका लागि राजवंशी जनप्रतिनिधिबीच कुनै विवाद भए समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताइन् । उनले पार्टीगत रुपमा फरक भएपनि जातीय रुपमा एक हुनुपर्नेमा जोड दिइन् ।

कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले भूमिपुत्र राजवंशीहरुको संरक्षण र संवद्र्धनका लागि झापाका हरेक स्थानीय तहले अनिवार्य बजेट विनियोजन गर्नुपर्ने माग गरिन् । उनले स्थानीय तहमा जातीय विकासका लागि राजवंशी जातिले ठोस् पहल गर्नुपर्ने बताइन् ।

भेलामा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल र हल्दिबारी गाउँपालिका तथा भद्रपुर, मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकामा निर्वाचित ५० जना राजवंशी जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जिल्लाका कमल र बुद्धशान्ति गाउँपालिका तथा दमक र अर्जुनधारा नगरपालिकामा राजवंशी जनप्रनितिधि रहेका छैनन् । झापाका ७ सय २३ जना जनप्रतिनिधिमा राजवंशी जातिका ५० जना जनप्रतिनिधि छन् । जसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, १२ जना वडाध्यक्ष, २९ जना वडा सदस्यमा निर्वाचित भएका थिए भने ५ जना मनोनित भएका थिए ।

भेलाले राजवंशी जनप्रतिनिधिहरुको जिल्ला सञ्जाल गठन गरेको छ । बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीको अध्यक्षतामा २५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा जिल्ला समन्वय समितिका सदस्य महिषलाल राजवंशी, सचिवमा कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, सहसचिवमा गौरीगञ्ज गाउँपालिका– १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी र कोषाध्यक्षमा कनकाई नगरपालिका –९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी रहेका छन् ।

सदस्यहरुमा बाह्रदशी –१ का वडाध्यक्ष शम्भुसिंह राजवंशी, ३ नम्बर वडाध्यक्ष बीरेन्द्र राजवंशी, भद्रपुर नगरपालिका –४ का वडाध्यक्ष हंशधर राजवंशी, ९ नम्बरका वडाध्यक्ष शनिलाल राजवंशी, हल्दिबारी गाउँपालिका –२ का वडा सदस्यहरु खकेन राजवंशी र सुकलाल राजवंशी, झापा गाउँपालिका –५ का वडाध्यक्ष दिनेशप्रसाद राजवंशी, वडा सदस्य विजयप्रसाद राजवंशी, कचनकवल गाउँपालिका –३ का वडाध्यक्ष विजय राजवंशी, ७ नम्बर वडाध्यक्ष भरत राजवंशी, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य चुवालाल राजवंशी, गौरीगञ्ज –२ का अघनुप्रसाद राजवंशी, बिर्तामोड नगरपालिका –३ का वडा सदस्य पूर्ण राजवंशी, वडा नम्बर –९ का वडा सदस्य दिलकुमारी राजवंशी, कार्यपालिका सदस्य सुरेन राजवंशी, गौरादह नगरपालिकाका कार्यपालिका सदस्यहरु जलबर्षा राजवंशी र पक्टुलाल राजवंशी, मेचीनगर नगरपालिकाका –१३ नम्बर वडा सदस्य ऋषि राजवंशी, १५ नम्बर वडा सदस्य बृखलाल राजवंशी र शिवसताक्षी नगरपालिका –५ का वडाध्यक्ष सत्यनारायण राजवंशी रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य पूर्णसिंहको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सहसंयोजकमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी तथा सदस्यहरुमा पत्रकारहरु इन्द्रसिंह राजवंशी, अर्जुन राजवंशी र पवन राजवंशी रहेका छन् । त्यस्तै सञ्जालका पदाधिकारी र सल्लाहकार समितिका संयोजक र सहसंयोजक रहेको ७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

कार्यक्रम कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रले आयोजना गरेको थियो । केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि पत्रकार इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए । स्वागत मन्तव्य केन्द्रका सचिव जयप्रसाद राजवंशीले गरेको कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here