थर्ड होमले थ्री स्टार पायो, अन्य होटलको अनुगमन आज

0
526

 

 

नरेन्द्र ढकाल

बिर्तामोड,  झापाको बिर्तामोडमा रहेका होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो ।

होटल तथा रेष्टुरेन्ट अनुगमन गरेर पहिलो पटक बिहिबारबाट खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न स्टिकर वितरण गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले बताए । अभियानअन्तर्गत बिर्तामोडका २३ वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको र पुन अनुगमन गरेर स्टिकर वितरण गरिने बताइएको छ ।

अति उत्तम हुनेलाई तीनवटा तारा अंकित हरियो स्टिकर, उत्तमलाई दुई तारा अंकित हरियो स्टिकर, सन्तोषजनकलाई एक तारा अंकित हरियो स्टिकर दिइने उनले बताए । यस्तै, मूल्यांकनमा सामान्य खाद्य स्वच्छता कायम गरेको पाइएकालाई पहेलो स्टिकर दिइने व्यवस्था रहेको छ । निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका होटलहरुलाई सुधार गर्न निर्देशन दिने गरेको प्रमुख पुरीले जानकारी दिए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ का आधारमा बिर्तामोडमा स्तरीकरण अभियान सुरु गरिएको उनले बताए । त्यस्तै होटल रेस्टुरेन्ट सञ्चालकले पालना गर्नुपर्ने मापदण्डको व्यवस्था गरिएको छ । त्यही मापदण्डका आधारमा स्तरीकरण तथा मूल्यांकनका लागि चेकलिस्ट बनाइएको छ । निर्देशिकामा उल्लेख भएअनुसार होटल तथा रेष्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डका आधारमा खाद्य स्वच्छता निरीक्षण गर्न ५० बुँदे चेक लिस्ट बनाइएको छ ।

कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेष्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरिने गरिएको प्रमुख पुरीले जानकारी दिए । खानामा दिइने गुणस्तरियता, खाना बनाउन प्रयोग गरिने तेललगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्यांकन गरिने बताइएको छ । ‘नाला, ट्वाइलेट, बाथरुमको सुविधा र अवस्था लगायतबारे अनुगमन गरिन्छ,’ उनीले भने, ‘कारोबारको तथ्याङ्क कसरी राख्छन् लगायत बारेमा उल्लेख भएको चेकलिस्टको आधारमा मूल्यांकन गरिन्छ ।’

रेष्टुरेन्टमा नै गएर अनुगमन गर्दा तत्काल देखिएको अवस्थालाई चेकलिस्टमार्फत मूल्यांकन गरेर स्टिकर प्रदान गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विराटनगरकी खाद्य निरीक्षक प्रमिला राईले बताइन् । चेकलिस्टमा मार्किङ गर्ने तरिकासमेत उल्लेख छ । त्यही आधारमा प्राप्त हुने नतिजा अनुसार स्टिकर प्रदान गरिएको छ । यसरी दिइएको स्तरीकरणको स्टिकर एक वर्षका लागि मान्य हुने गरी दिइन्छ । अनुगमन र मूल्यांकनका लागि व्यवसायी, उपभोक्ता र स्थानीय जनप्रतिनिधिसहितको समिति बनाइएको छ । समितिले समय–समयमा पुनः अनुगमन तथा छड्के जाँच गर्न सक्ने व्यवस्था गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।

यस्तै, होटल तथा रेस्टुरेन्ट सञ्चालकले पनि स्तरीकरणमा सहभागी हुनका लागि निवेदन दिन सक्ने उनी बताउँछन् । निवेदन आएपछि समितिले अनुगमन गरेर मूल्याकंन गरेर स्तरीकरणको स्टिकर प्रदान गर्न सकिने होटल ब्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीले बताए । बिर्तामोडमा मात्रै दुई हजारको हाराहारीमा होटल तथा रेष्टुरेन्ट रहेको जनाइएको छ ।

अनुगमनका क्रममा चेकलिस्टमा उल्लेख भएका स–साना कुरा पनि मिहिन ढंगबाट हेरिएको अनुगमन समितिका सदस्य एवम् बिर्तामोड नगरकार्यपालिका सदस्य भगिरथा आर्चायले बताइन् । ‘कर्मचारीको व्यक्तिगत सरसफाइ र भान्छाको सरसफाइमा कमजोरी देखिएका छन्,’ उनले भनिन्, ‘भण्डारण व्यवस्थित गर्न, देखिएका कमजोरी सुधार गर्न केही समय दिएका छौं, पहिलो अनुगमन सकेर अब स्टिकर वितरणलाई तिब्र बनाएका छौं ।’ होटल तथा रेष्टुरेन्टलाई सुधारोन्मुख बनाउन नै निरीक्षणलाई प्राथमिकता दिइएको उनीहरुको भनाई छ ।

यसैबीच बिर्तामोडमा बिहिबारबाट लोगो(स्टिकर) वितरण कार्यक्रम सुरु भएको छ । बिर्तामोड स्थित थर्ड होम कफी हाउसले अति उत्तमको अंक प्राप्त गर्दै पहिलो पटक थ्री स्टार(तीन तारा) को लोगो प्राप्त गरेको छ । होटल स्तरीकरण कार्यक्रमको उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनलाई तिब्रता बनाउर्दै स्वच्छताको विषयमा ध्यान दिन सबै उपभोक्तालाई आग्रह गरे । उनले थर्ड हामेले उत्कृष्टता हासिल गरेको भन्दै थप चुनौती थपिएपनि आगामी वर्षबाट स्टिकर मात्र नभएर प्रशंसा प्रत्र समेत प्रदान गरिने ब्यवस्था गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्रमुख पुरीलाई निर्देशान समेत दिए । बिहिबार उद्घाटन गरिएपनि अन्य होटलको अनुगमन र स्टिकर वितरण आज (शुक्रबार) बाट सुरु हुने खाद्य अधिकृत पुरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अनुगमनलाई निरन्तरता दिने बताए । उनले होटलको वर्गीकरणबारे उपभोक्रा सजग हुनुपर्ने बताए । त्यस्तै बिर्तामोड उद्योग वाणिजय संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, होटल ब्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेती लगायतले स्टिकर वितरण र अनुगमनलाई थप प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताए । अनुगमनलाई क्रमश जिल्ला भर सञ्चालन गर्ने र उपभोक्तलाईसजग बनाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले बताए । उद्घटना कार्यक्रमको सञ्चालन सावित्रा दाहाल भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here