कर शिक्षाप्रति महिलाको चासो

0
842

चारपाने।

नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा कर सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सदस्य ऐश्वर्य पाण्डेले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईले हरेक नागरिक गर्भमै रहँदादेखि सरकारको भएकाले गर्भबाटै स्वस्थ र असल नागरिक बनाउन सरकारले विभिन्न सुविधा दिएकोले हरेक नागरिकले कर तिर्नुपर्ने बताइन् ।

सरकारले सूचीकृत गर्ने क्रममा नागरिकलाई जन्मदर्ता, नागरिकता, विवाह दर्ता, शैक्षिक, व्यावसायिक प्रमाण पत्र हुँदै मृत्यु दर्ता पनि गरिदिने भएकाले हरेक नागरिकले कर तिर्नुपर्ने र अहिले तिरेको कर चक्र झंै घुमेर आफैले उपभोग गर्न पाइने बताइन् । विभिन्न छात्रवृत्ति, गरिबी, अपाङ्ग, महिला, ज्येष्ठ नागरिक लगायतका शीर्षकमा सुविधा उपभोग गरिरहेकोले कर नतिरी धरै नपाइने उनले बताइन् ।

प्रसाईले भनिन्– ‘लामो समयसम्म कर नतिर्नेलाई छुटको व्यवस्था ल्याउनु गलत हो । नियमित कर तिर्नेहरु माथिको अन्याय भयो । जसरी हजुरबुवाको सम्पत्ति छोरा नातिले दाबी गरेर लिन्छन् । त्यसैगरी बुबा, हजुरबुवाले नतिरेको कर छोरा नातिबाट सरकारले असुल गर्नुपर्छ । हामी नागरिकको घरको स्वरुप अर्को घर देश हो त्यसैले सबै करमा आवद्ध बनौं र नियमित कर तिरौं यसो गरेमात्र देशले समृद्धि हाँसिल गर्न सक्छ ।’

कार्यक्रममा चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी, राष्ट्रिय उद्योग वाणिज्य संघ झापाका अध्यक्ष सुभाष भट्टराई लगायतले करदाताले गर्नुपर्ने कर्तव्यबारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय चन्द्रगढीका प्रमुख बोलराज आचार्य, कर अधिकृत भीमप्रसाद देवकोटाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्ने र गरिरहेकाले कसरी करको दायरामा आउने, करको दायरामा आउँदा र नआउँदाका फाइदा र बेफाइदाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल उद्यमशील महिला संघ झापाकी सचिव सावित्रा दाहालले गरेकी थिइन् । अन्तरक्रियामा दुई सयभन्दा बढी उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here