लोथापोथा पर्व मनाउँदै कोच समुदाय

0
722

बिर्तामोड।

कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा उक्त पूजा कार्यक्रमको आयोजना गरिएको हो ।

तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महिनाको शुरुमा मनाइने ‘सिरुवा और’ पर्वको समाप्ति हो । राजवंशी समुदायले असार महिनाको प्रत्येक बिहीबार यो पर्व मनाउने गर्दछन् ।

यो पर्व मनाउने क्रममा राजवंशी समुदायका श्रद्धालुले स्थानीय भाषामा ‘बिर्ना झुटी’ भनिने एक प्रकारको घाँसलाई देउताको रूपमा स्थापना गरेर पूजापाठ गर्ने गर्दछन् । बिर्ना झुटीलाई मध्यभागमा राखेर श्रद्धालुहरु वरिपरि बस्छन् र शङ्खनाद गर्दै बिर्ना झुटीलाई पूजा गर्छन् ।

पूजाका लागि यस मौसममा उत्पादन हुने फलफूल आँप, लिची, अठिया केरा, काँक्रा र राजवंशी भाषाको डोहा (वडहर) फल तथा उसिना चामल, दूध, दही आदि सामग्री प्रसादको रुपमा चढाई पूजा गरिन्छ । पूजापश्चात प्रसादको रुपमा खीर, फलफूल वितरण गरिन्छ । यो पर्व लोक कथनसँग सम्बन्धित रहेकाले पर्वसँग जोडिएको लोक कथावाचन र श्रवण गर्ने परम्पार छ ।

स्थानीय जानकार व्यक्तिले पर्वको शुरुआतसँग जोडिएको कथावाचन गर्ने प्रचलन छ । पूजाको क्रममा मौलिक भाकाको गीतसमेत गाउने गरिन्छ भने समापनको क्रममा पूजास्थलको मध्यभागमा स्थापना गरिएको बिर्ना झुटीलाई उचाल्ने र थेचार्ने गरिन्छ । यसरी बिर्नाको मुठालाई माथि उठाउने तल राख्ने कार्यले समुदायमा सुख, शान्ति कायम भई सुस्वास्थ्य हुने विश्वास रहेको छ ।

यस कार्यमा समुदायका पुरुषको सहभागिता रहने गरेको छ । परापूर्वकालदेखि कृषिलाई मूल पेशाको रूपमा अङ्गालेको यो समुदायले कृषिलाई पुजनीय बनाएकाले पूजा गर्ने गरिएको हो । यस पर्वमा गरिने पूजाले समुदायमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरी धनसम्पत्तिको अहमता त्याग्न र आफ्नो शरीरको ध्यान दिनुपर्ने पर्वको मान्यता रहेको पूर्वराज्यमन्त्री एवम् राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले बताए ।

किंवदन्तीअनुसार यो पर्वले भगवान् श्रीकृष्णको समेत पूजा गरेको सरोज राजवंशीले बताए । पूजापश्चात सुखली दुखली (धनी र गरीब) दुई दिदीबहिनीसँग सम्बन्धित कथावाचन पश्चात बेर्नालाई सबै महिलाले माथि उठाउने र तल राख्ने प्रकिया गरी पूजा समाप्त गरिन्छ । समितिका अध्यक्ष राजवंशीले यो समुदाय भाषा, भेषभुषा र संस्कृतिमा धनी रहेको बताउँदै कसैको प्रलोभनमा नपरी आधुनिकता सँगसँगै संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।

राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष उपसादेवी राजवंशीले समुदायको भाषा संस्कृतिबाट मुलुकको समृद्धि झल्किने बताउँदै युवापुस्तालाई आ–आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

नेपालको विविधतायुक्त जातजाति र भाषाभाषीका अनगिन्ती पर्वहरु लोपको सङ्घारमा रहेको अवस्थामा राजवंशी समुदायको लोथापोथासहित अन्य समुदायका मौलिक चाडपर्वलाई संरक्षण र संवद्र्धन गर्नसके त्यसले प्रदेश र देशको सांस्कृतिक समृद्धिमा टेवा पु¥याउने छ । मोरङ जिल्लामा ५० हजार कोच राजवंशीको बसोबास छ । सो अवसरमा राजवंशी युवायुवतीले आफ्नो भाषाको गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here