सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढायो

0
685

काठमाडौं।

सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । बस खरीद गर्दा एक सरकारबाट अर्को सरकार (जी टू जी) प्रक्रियाबाट वा सोझै कुनै पनि कम्पनीलाई ठेक्कामार्फत दिने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार सरकारले सार्वजनिक खरीद ऐनअनुसार नै खरीद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरीद गर्ने भन्ने केही समयभित्र निर्णय हुनेछ । प्रवक्ता ज्ञवालीले भन्नुभयो, “अहिले मन्त्रालयले सम्बन्धित सबैसँग छलफल गरिरहेकाले एक– खरीद प्रक्रियाबारे दुई हप्ताभित्रै टुङ्गो लगाइने छ ।” बस खरीद गर्ने प्रक्रियासँगै बस सञ्चालनको तरिकाका बारेमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अरू कुनै निकयसँगको सहकार्यमा वा आफैँले पनि सञ्चालन गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ ।साझा यातायातलाई नै जिम्मेवारी दिने भन्ने निर्णय पनि भइसकेको छैन । विद्युतीय बस खरीदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । अपुग भए थप बजेट निकासा गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्को गत पुसमा बसेको बैठकले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले खरीद गर्ने भने पनि कसरी र कुन निकायमार्फत खरीद र सञ्चालन गर्ने निर्णय नगरेकाले अहिले यी विषय निर्णयका क्रममा रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

त्यस्तै एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भित्रिएका पाँच विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बसको सङ्ख्या बढाइँदै लगिने बताउनुभएको थियो ।

नेपाल सरकारसँगै विद्युतीय बस खरीद र सञ्चालनमा प्रदेश सरकारले समेत चासो देखाएका छन् । प्रदेश नं ३ सरकारले आगामी आवमा विद्युतीय बस खरीद गर्नका लागि रु ३० करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्थासँगको सहकार्यमा बस सञ्चालनका लागि छलफल अघि बढाएको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । काठमाडौँ उपत्यकाका स्थानीय तहले पनि साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस खरीदको निर्णय गरिरहेका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै विद्युतीय बसलाई प्रोत्साहन गरिने बताउनुभएको थियो । काठमाडौँ उपत्यका र सातै वटा प्रदेशको प्रमुख शहर र आसपासका स्थानमा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा विद्युतीय बस खरीद गरेर सञ्चालनमा ल्याइने उहाँले बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here