आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न – प्राज्ञ श्रेष्ठ

0
1083

काठमाडौँ।

विश्वबाट वनस्पतिसँगै परम्परागत ज्ञानको समेत लोप हुने खतरा बढेकाले यसको जर्गेनाका लागि विश्व समुदाय नै अग्रसर बन्नुपर्ने विचार वनस्पति विज्ञ प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले व्यक्त गर्नुभएको छ ।

राजधानीमा आइतबार आयोजित ‘नेवाः नखःचखः व संस्कारय् वनस्पति’ ( नेवाः चाडपर्व र संस्कारमा वनस्पति) नामक पुस्तकको लोकार्पण कार्यक्रममा प्राज्ञ श्रेष्ठले वनस्पतिमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै भन्नुभयो – ‘बोटविरुवा रोप्दैमा प्रकृति जोगिन्छ भन्ने छैन । स्थानीय रैथाने वनस्पतिको अन्त्य गरेर आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न ।”

प्राज्ञ श्रेष्ठका अनुसार स्थानीय महत्वका वनस्पतिले सिङ्गो मुलुकको पहिचान बोकेको हुन्छ । नेपाली भूमिबाट सङ्कलित वनस्पतिले विश्वमा पृथक पहिचान राख्न सकेको र यसले थप अध्ययनका सम्भावनाहरु खोलेको बताउँदै उहाँले भन्नुभयो – “भाषा, संस्कृति र संस्कारले पनि वनस्पति संरक्षण गर्न जोड दिन्छ । बाहिरबाट ल्याइएको वनस्पतिले संस्कृति र संस्कारका साथै भाषामाथि नै खतरा निम्तिन्छ । यसका लागि दीर्घकालीन सोच बनाई अघि बढ्नुपर्छ ।”

नेपाल भाषामा लेखिएको उक्त पुस्तकमाथि टिप्पणी गर्दै प्रा डा ओमकारेश्वर श्रेष्ठले नेपालभाषा, नेपाली र अंग्रेजीका साथै वैज्ञानिक नाम समेत उल्लेख गरिएको यो पुस्तक नेवार सभ्यताको ज्ञानको परिचायक हो भन्नुभयो ।

लेखिका डा निर्मला जोशीले वनस्पतिलाई बोटविरुवाको भन्दा पनि प्रकृति र विज्ञानको सङ्गमको रुपमा लिनुपर्ने बताउनुभयोे । समुदायमाझ प्रयोगमा रहेको वनस्पतिले ज्ञान र सभ्यतामाथि प्रकाश पार्ने बताउँदै उहाँले भन्नुभयो – “योजनाबद्ध रुपमा यसलाई अघि नसारेको खण्डमा भोलिका दिन सिङ्गो मुलुकबाट वनस्पति लोप हुनेछ ।” कार्यक्रममा पुस्तकका अर्का लेखक प्रा डा सुन्दरकृष्ण जोशीले पनि पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here