दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि नेपालगञ्जमै थन्कियो

0
530

बाँके,

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो ।

औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउनुभयो ।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको उहाँले बताउनुभयो । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् । औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा सिजन रावलले बताउनुभयो ।

“हरेक दिन बिरामी थपिइरहेका छन्, भुँइमा बिरामी राखेका छौँ, तर औषधिको पीरलो भइरहेको छ”, डा रावलले भन्नुभयो, “यदि औषधि सकियो भने अन्य कुनै पनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौँ ।” मौज्जात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ । विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ ।

दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन् । मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेशन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here