नेपाली कांग्रेसले आत्मसमीक्षा गर्ला ?

0
815

तीर्थराज खरेल,

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज सोमबार ३७औं स्मृति दिवस हो । कांग्रेसका समर्थक, शुभेच्छुक र कार्यकर्तामा नेताहरुले वीपीको आदर्श र मार्गदर्शनलाई अनुशरण गर्न नसकेको गुनासो बढ्दो छ । पार्टीभित्रको अमूक गुटमा नरहेका कांग्रेसका समर्थकहरु वर्तमान नेतृत्वले पार्टीको आदर्शलाई भुलेर चलखेल र गुटबन्दीमा रमाउँदै गएको आरोप लगाइरहेका छन् । वीपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको र वीपीले लिएको बाटोलाई अनुशरण गर्दै उनकै मार्गचित्रमा हिँड्न नसकेको भनी निराशा पनि फैलिरहेको छ । तर, वर्तमान शेरबहादुर देउवाको नेतृत्व आम कार्यकर्ता, शुभचिन्तक र समर्थकको असन्तुष्टि, निराशा र आरोपलाई मान्न तयार देखिँदैनन् ।

वास्तवमा नेपाली कांग्रेसमा सामुहिक नेतृत्वभन्दा पनि व्यक्तिवादी नेतृत्व र चरित्रको हावी हुँदै गएको छ । यसले पार्टीलाई आक्रान्त पारेको तथ्य स्वीकार गरे पनि नगरे पनि घाम जत्तिकै छर्लङ्ग छ । २०१५ सालको आमचुनावमा दुई तिहाइ र पटक–पटक बहुमत ल्याएर सरकार बनाएको कांग्रेस यतिबेला आफूले लिएका नीति र कार्यक्रमको प्रचार गरेर, कार्यकर्ता र जनतालाई सो बारेमा प्रष्ट पारेर गुमेको साख फिर्ता गर्न कोशिस गरिरहेको छैन, अपितु सत्तासीन नेकपा र केपी ओली सरकारका काम कार्वाहीका बारेमा नकारात्मक प्रचार गरेर नकारात्मकताको खेती गरेर जनतालाई आफूतिर आकर्षित गर्न चाहिरहेको देखिन्छ । नेकपा नेतृत्वमा रहेको सरकारले राम्रा र नराम्रा कामको वस्तुनिष्ठ समीक्षा गर्नुभन्दा विरोधका लागि विरोधको राजनीतिको पासा फालेर जनअसन्तुष्टिलाई भजाउने कोशिस गरिरहेको छ । तर, यसो गर्नुभन्दा २१औं शताब्दी सुहाउँदा जनपक्षीय कार्यक्रम के हुन सक्छन्, राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको भाव के हो र अब मुलुक कुन दिशातिर जान उचित हुन्छ भनेर आत्मसमीक्षा गर्न जरुरी छ ।

साँच्चै भन्ने हो भने पार्टीभित्रको अन्तरघात र बेमेलका कारण पनि नेपाली कांग्रेस आजको अवस्थामा पुगेको हो । गुमेको अस्तित्व प्राप्तिका लागि छ दशकभन्दा बढी समयदेखि लोकतन्त्र र गणतन्त्रका लागि लडेका, जेलनेल खपेका, प्रवासमा कठिन जीवन बिताएका नेपालका कम्युनिष्टलाई अधिनायकवादी र सर्वसत्तावादी करार गर्ने र जनमत आफूतिर तान्ने कुरा धेरै पुरानो भइसकेको छ । वीपीको सिद्धान्त र मार्गदर्शन अनुशरण गर्दै एकढिक्का हुनुपर्नेमा जोड दिनु हो भने बरु कांग्रेसले कोर्ष करेक्सन गर्न सक्थ्यो । शीर्ष नेता नै गुटबन्दी र व्यक्ति केन्द्रित स्वार्थमा हिँड्दा त्यसको असर तल्लो तहसम्म पुगेकाले नेतृत्वमा रहेका नेताको आचरण शुद्धीकरण कांग्रेसको मुख्य विषय हुनुपर्छ । नेपाली कांग्रेस संघीय, प्रादेशिक र स्थानीय तहका संसदहरुमा झिनो जनसमर्थनसहित उपस्थित हुन बाध्य भएको छ ।

यद्यपि केन्द्रको चुनावमा लोकप्रिय मतमा नेकपाको मतभन्दा धेरै नै फरक अवस्थामा रहेको छैन । आजको स्मृति दिवसको यो क्षणमा नेपाली कांग्रेसका लागि सबैभन्दा पेचिलो प्रश्न हो– के नेपाली कांग्रेस वीपी कोइरालाले देखाएको बाटोमा हिँडेकै कारणले कम्युनिष्टसँग हार व्यहोर्नु परेको हो कि ? अथवा वीपी कोइरालालाई बिर्सेकै कारणले वा वीपीका आदर्शलाई नपछ्याएकै कारणले इतिहासमै पहिलो पटक जनताकै मतद्वारा पराजित हुनुपरेको हो ? नेपाली कांग्रेसले आफैंसँग प्रश्न गर्नुपर्छ– नेपाली कांग्रेसले आफूले हिँडेको बाटो समाजवादी हो ? के यो बाटो सामन्त र दलाल पूँजीवादीहरुलाई पक्षपोषण गर्ने हो ? कांग्रेसीजनका लागि कांग्रेसको राजनीति भनेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेका कमजोरी उपर छिन्द्रान्वेषण गर्ने र भए÷नभएका कुरा उछालेर हिलो छ्याप्ने वा जनअसन्तुष्टिको तावामा रोटी सेक्ने हो ? वास्तवमा नेपाली कांग्रेसले सृजनात्मक रुपमा सोच्ने दिन हो आज । असल सल्लाहसुझाव ग्रहण गर्ने दिन हो आज । कांग्रेसले आफ्नो इतिहासलाई फर्केर हेर्ने, आत्म–मूल्यांकन र सिंहावलोकन गर्ने र आफू जनतासँग टाढा भइयो कि नजिक भनेर समीक्षा गर्ने दिन पनि हो आज ।

कांग्रेसका बारेमा उठेका प्रश्नका उत्तरहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कमजोरीमा खोज्ने होइन । आफ्नो विजयमा मात्र आफ्नो जीत देख्नुपर्छ र नेकपाको पराजयमा मात्र आफ्नो जीत देख्ने अरुको आँगन खनेर आफ्नो भण्डार भर्ने सोच कांग्रेका लागि घातक छ र आम नेपाली जनतालाई पनि त्यसले भलो गर्दैन । यदि यसरी मात्र सोच्ने हो भने नेकपाले नेपाली जनताका लागि राम्रा काम गरिरहेमा नेकाको कहिल्यै मौका नआउने प्रष्ट हुन्छ । के नेपाली कांग्रेसले नेकपाका भन्दा पनि बढी समाजवादी, जनपक्षीय र जनहितकारी नीति र कार्यक्रम ल्याउने क्षमता राख्दैन र ? नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको स्थापना, विकास र मूल प्रवाहीकरणमा कम्युनिष्टहरुको योगदानको हिस्सा छ । तसर्थ, नेपाली कांग्रेसले आफूलाई मात्र प्रजातन्त्रवादी भन्ने र कम्युनिष्टहरुलाई अधिनायकवादी भनेर आमसञ्चारका माध्यम, सामाजिक सञ्जाल र आफ्ना प्रशिक्षणहरुमा भन्नुको खासै अर्थ छैन । नेपालका मुख्य कम्युनिष्टहरुको धार लोकतान्त्रिक आन्दोलनकै धार हो । अझ समुन्नत लोकतन्त्र कसरी बनाउने, आधुनिक युगसापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न सकेमा मात्र कांग्रेसको भलो हुन्छ ।

वीपी कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आजपर्यन्त अनुभूत गर्न सकिन्छ । तीन जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका र राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपी कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटोबाट आज नेपाली कांग्रेस हिँडिरहेको छ भनेर मान्न सकस पर्ने स्थिति देखा परिरहेछ । आफ्ना संगठनलाई सुदृढ गर्ने र कार्यकर्तामा ऊर्जा भर्न जनस्तरमा आउन सकेमा नेकाको नेतृत्व जनतामा स्थापित हुने हो । सत्तामा हुँदा मात्र जनतामा स्थापित हुने भन्ने मान्यता गलत हो । हालै कांग्रेसले जागरण अभियान समापन गरेको छ । प्रश्न छ– के जनजागरण अभियानको कहिल्यै समापन हुन्छ र ? यो त नित्य निरन्तर चलिरहने प्रक्रिया हुनुपर्छ ।

२०१५ सालमा सम्पन्न नेपालको पहिलो आम निर्वाचनबाट प्रधानमन्त्री बनेका वीपीले ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरुसहित क्रान्तिकारी बाटोमा अघि बढ्न कोशिस गर्दा र आफ्नो दुई तिहाइ बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानून पारित गरेपछि राजा महेन्द्रबाट बहुदलीय लोकतन्त्रको घाँटी निमोठी २०१७ साल पौष १ गते बहुदलीय प्रजातन्त्र खोसी एकदलीय निरंकुशताको बीजारोपण गरी उनलाई जेल हालियो । वीपी राजासँग झुकेनन्, बरु उनले एक महान प्रजातन्त्रवादी नेताको रुपमा एकान्त जेल रोजे र लोकतन्त्रको खरानीमाथि उभिएको अधिनायकवादको विपक्षमा उनी सदैव खडा भए । आजका नेकाका नेताहरुमा वीपीको जीवनबाट लिने कुनै आदर्शमय जीवनपद्धतिको मार्गदर्शनबारे हृदयतः विश्वास छ ? पूँजीवादी व्यवस्थालाई तीव्र उपभोक्तावादी, अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित मान्थे वीपी । कांग्रेस सामन्तवाद, पूँजीवाद र साम्यवादको पक्षपाती नभएर प्रजातान्त्रिक समाजवादी हो भन्ने उनको मत थियो । आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको खाँचो हो भन्नेमा वीपी स्पष्ट थिए । तर, आज कांग्रेस समाजवादी बाटो त्यागेर नाङ्गो रुपमा पूँजीवादको पक्षपोषण गरिरहेको छैन ?

नेपाली राजनीतिक इतिहासमा वीपीको ठूलो योगदान छ । तर, यसो भनिरहँदा यो भुल्नु हुन्न कि वीपी पनि मानव नै थिए । उनी देउता थिएनन् । कतिपय सीमाका बाबजुद उनी बढी दूरदर्शी, असल र अग्रणी सोच भएका नेता थिए । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, अर्थशास्त्र, समाजशास्त्र र साहित्यको व्यापक अध्ययन गरेका अध्ययनशील नेता थिए । वास्तवमा भन्ने हो भने वीपी कोइरालालाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको संघर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा, उनलाई आफ्नो समयका सारथीका रूपमा बुझ्न सकिँदैन र नेपाली जनतालाई यस सम्बन्धमा बुझाउन पनि सकिँदैन ।

हुन त वीपीले आफ्नो जीवन असफल नभएको बताएका छन् । तर, उनले आफ्नो सोच, दर्शन र नीतिहरु व्यावहारिक रुपमा लागू गर्ने अवसर नै पाएनन् । सारमा भन्ने हो भने वीपी कोइरालाका सोच र विचार आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शन हुन सक्छन्, तर अहिलेको नेकाको नेतृत्व र कार्यकर्ता पंक्तिले यो सच्चाइलाई ग्रहण गर्ने र आफूलाई बदल्ने, समाज बदल्ने र समाजवादी नेपाल निर्माण गर्ने वीपीको सपना पूरा गर्ने मार्गमा अग्रसर हुन जरुरी छ । प्रश्न टड्कारो छ– नेकाले आफ्ना कमजोरीहरुको आत्मसमीक्षा गर्ला ? आग्रह–पूर्वाग्रहबाट माथि उठेर आफूलाई बदलेर आधुनिक नेपाल निर्माणमा विशिष्ट योगदान देला ? वा आफैभित्रका कमजोरीका रापमा जलेर आगामी चुनावमा तेस्रो वा चौथो पार्र्टी बन्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here