बाढीले भद्रपुर-गलगलिया नाका अवरुद्ध, मेची पुल बन्दा पनि स्थानीयलाई सास्ती

0
1216

पार्थ मण्डल / भद्रपुर ।

नेपाल भारतको सीमा नाका भद्रपुर—गलगलिया अवरुद्ध बनेको छ । अविरल वर्षासँगै मेची नदीमा बाढी आएपछि अस्थायी ग्राभेल सडक पानीले बगाउँदा बुधवार बिहानदेखि सो नाका अवरुद्ध भएको हो ।

नाका अवरुद्ध भएपछि दुवै देशका नागरिक नाकामै रोकिएका छन् । यातायातका सम्पूर्ण सवारीसाधन समेत ठप्प बनेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मेची नदीमा आएको बाढीले १०१ नम्बर सीमा पिलर डुबाएको छ । एसएसबीले दशगजा नजिकै राखिएको अस्थायी पोस्ट डुबाउनुका साथै ग्राभेल सडक भरि पानी बग्न थालेको छ । ग्राभेल सडकमाथि बाटै पानी बग्न थालेकोले भारतीय एसएसबीले कसैलाई आवतजावत गर्न दिएको छैन । भारतबाट आउने सरसामान पनि नाकामै रोकिएको छ ।

मेची नदीमा ५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो । मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७५ साल माघ १७ गते एक भव्य समारोहका बिच गरेका थिए । सडक निकास विनाको पुलको उद्घाटन हुँदा समेत स्थानीयले अहिले पनि सास्ती झेल्नु परेको छ ।

पुल जोडने भारततर्फको सडक नबन्दा अहिले पुलमाथिबाट हलुका चार पाङ्ग्रे सवारीसाधन, मोटरसाइकल, अटो, सिटी रिक्सा, साइकल र पैदल यात्री मात्र आवतजावत गरिरहेका थिए । तर, त्यो पनि बुधवार ठप्प हुँदा स्थानीय वैकल्पिक बाटोको प्रयोग गर्न काँकडभिट्टा जानु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here