झापामा बालबालिकालाई यौन धन्दामा लगाउने होटल सञ्चालकसहित तीन जना कारागार चलान

0
931

भद्रपुर ।

बालबालिकालाई यौन धन्दामा लगाउने होटेल सञ्चालकसहित तीन जनालाई मङ्गलवार झापा कारागार चलान गरिएको छ ।

बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिका विरुद्धको कसुर बमोजिम मुद्दा दर्ता भएपछि उनीहरूलाई झापा अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार अदालतले सुनसरी धरान उप महानगरपालिका १६ जोरसखुवा घर भई हाल बिर्तामोड नगरपालिका ५ स्थित प्रतीक्षा होटेल एन्ड लजमा कार्यरत कर्मचारी २० वर्षीय अभिषेक तामाङ, बिर्तामोड नगरपालिका ५ हिकोला रोड स्थित मन शान्त होटलको सञ्चालक किरण तामाङ भन्ने (श्यामकुमार) र बिर्तामोड नगरपालिका १ बस्ने २१ वर्षीय नवीन विश्वकर्मा भन्ने (रत्न बहादुर) लाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । बालबालिका सम्बन्धी ऐन बमोजिम उनीहरूलाई १५ वर्ष सम्म कैदको सजाय हुने व्यवस्था रहेको छ ।

घटनामा संलग्न प्रतीक्षा होटेल एन्ड लजका बुद्धशान्ति गाउँपालिका २ जयपुर बस्ने २५ वर्षीय विमल गहतराज, र मनीका होटेल एन्ड लजका बुद्धशान्ती गाउँपालिका २ जयपुर बस्ने ३५ वर्षीय निश्चल विश्वकर्मा भन्ने (राम पोर्तेल) अझै फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटना विवरण अनुसार बिर्तामोडमा रहेका विभिन्न होटेल तथा लजहरूमा यौन धन्दा हुने गरेको र सो धन्दामा बालबालिकालाई प्रयोग गर्न गरेको विशेष सूचनाको आधारमा गत जेठ २२ गते झापा प्रहरीले छड्के अनुगमन गरेको थियो । प्रहरीले गरेको अनुगमन पश्चात् प्रतीक्षा होटेल एन्ड लज, मन शान्त होटेल, मनीका होटेल एन्ड लजबाट पाँच जना नावालिकाहरुलाई उद्धार गर्दै तीन जना पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here