सेटिङमा सामान भित्र्याइँदै

0
1196

भद्रपुर।

भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा भन्सार नतिरी नेपाल भित्र्याइएको भुइँकटहर (अनारस) लोड गरिएको एउटा ट्रक स्थानीय युवाहरूले नियन्त्रणमा लिएका छन् ।

भन्सार छलेर भित्र्याइएको भुइँकटहरसहितको ट्रक नियन्त्रणमा लिएर युवाहरूले वडा प्रहरी कार्यालय बुझाएपछि यस्तो घटना सार्वजनिक भएको हो । घटना विवरण अनुसार भद्रपुर भन्सार कार्यालय अगाडि ड्यूटीमा सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका असई अमर विक नेतृत्वको सशस्त्र प्रहरी टोली र भन्सारका सहायक कर्मचारीद्वय कृष्णप्रसाद निरौला र रामबहादुर थापा मङ्गलवार बेलुका ८ बजे खटिएका थिए ।

सोही समयमा भारतको गलगलिया नाकाबाट मेची पुल हुँदै भित्रिएको ना ५ ख ७३०७ नम्बरको ट्रकमा लोड गरिएको भुइँकटहर भद्रपुर भन्सार अगाडिबाटै सोझै बसपार्कतर्फ गइरहेको अवस्थामा स्थानीय युवा बिर्जु सहनीको समूहले नियन्त्रणमा लिएर आवश्यक कागजात माग गरेका थिए ।

तर, ट्रक चालक अर्जुनधारा –५ बस्ने डिल्लीराम भट्टराईले भन्सार कागजात देखाउन नसकेपछि युवाहरूले प्रहरी बोलाएर ट्रक जिम्मा लगाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । भन्सार अगाडिबाटै सामान लोड गरिएको ट्रक भित्रिनुमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतो रहेको यसै घटनाले पुष्टि गर्दछ ।

‘भन्सार छलेर सामान लोड गरिएको ट्रक व्यापारीले लैजान खोजेपछि युवाहरूले ट्रक नियन्त्रण लिएको हो’–प्रहरी निरीक्षक श्रेष्ठले भने– ‘त्यसपछि घटनास्थल पुगेको प्रहरीले ट्रक चालकसँग भन्सार कागजात माग्दा नदेखाएपछि थप अनुसन्धानका लागि भुइँकटहर लोड गरिएको ट्रक नियन्त्रणमा लियौं ।’ ट्रकमा लोड गरिएको भुइँकटहर जे आर फ्रुट्स भद्रपुरले बिर्तामोडको प्रिन्स फ्रुट सेन्टरलाई बिक्री गरेको बिलमा उल्लेख गरिएको जनाइएको छ ।

भुइँकटहरसहितको ट्रक प्रहरीले भन्सार बुझायो

भुइँकटहर लोड गरिएको ट्रक भन्सार छलेर नेपाल भित्र्याइएको पुष्टि भएपछि वडा प्रहरी कार्यालय भद्रपुरले बुधवार दिउँसो ट्रक र चालकलाई सामानसहित भद्रपुर भन्सार कार्यालय बुझाएको छ ।

ट्रकमा लोड गरिएको ४ हजार २ सय वटा भुइँकटहरलाई ४२ हजार र ट्रकलाई ४ लाख गरी जम्मा ४ लाख ४२ हजार मूल्याङ्कन तोकेर भन्सार बुझाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि भन्सार अगाडि खटिएका कर्मचारीले भन्सार नतिराई सरसामान पठाउने गरेको थाहा पाएपछि प्रहरीले कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ ।

के भन्छन् भन्सार कर्मचारी ?

भन्सार अगाडि कर्मचारी खटिएको अवस्थामा भन्सार नतिरेर भुइँकटहर लोड गरिएको ट्रक युवाहरूले नियन्त्रणमा लिएको घटनाप्रति भद्रपुर भन्सार कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्सारका सुब्बा रेवती गिरीले बताए ।

‘कार्यालय प्रमुख फणिन्द्र दाहाल काम विशेषले बाहिर गएकोले यस विषयमा भन्सारले कर्मचारीमाथि अनुसन्धान गर्नेछ – उनले भने – ‘भन्सार अगाडि दुई जना कर्मचारीसहित सशस्त्र प्रहरी समेत थिए, कसरी यस्तो हुन गयो, म आफंै छक्क परेको छु’ –उनले थपे । ‘प्रहरीले बुझाएको भुइँकटहर व्यापारीले भन्सार तिरेर लैजाँदा बढीमा ४० हजार रुपैयाँ लाग्थ्यो –उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here