झापामा जग्गा कारोबार गर्ने महिला बढे

0
1177

भद्रपुर,

रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिलाको संख्या बढेको पाइएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार महिलाको नाममा जग्गा खरिद गर्दा राज्यले रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने तथा जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गरेकोले जग्गा कारोबारमा महिलाको संख्या बढेको हो।

गत आर्थिक वर्ष ०७५/०७६ मा माई पूर्वका स्थानीय तहहरूमध्ये कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जूनधारा नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बुद्घशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, हल्दीवारी गाउँपालिका, झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाबाट जम्मा २५ हजार १७ वटा रजिस्टेशन पास भएको सूचना अधिकारी तथा मालपोत अधिकृत दीपेन्द्र खत्रीले जानकारी दिए।

त्यसमध्ये महिलाको नाममा १५ हजार १ सय २३ वटा र पुरुषको नाममा ९ हजार ८ सय ९४ वटा जग्गा रजिस्टेशन पास भएको उनले बताए। त्यसैगरी, गत आर्थिक वर्षमा १७ हजार ६६ वटा दृष्टिबन्धक पास भएको छ। मालपोतले गत आर्थिक वर्ष रजिस्टेशन शुल्कतर्फ ४१ करोड ६० लाख ६२ हजार ९ सय ३८ रुपैयाँ तथा पुँजीगत लाभकरतर्फ १९ करोड ६९ लाख ६ सय ५० रुपैयाँ गरी कुल ६१ करोड १९ लाख ६८ हजार ९ रुपैयाँ राजश्व संकलन गरेको अधिकृत खत्रीले बताए।

मालपोतले आर्थिक वर्ष ०७४/०७५मा जम्मा ४७ करोड ५१ लाख ५३ हजार ९२८ रुपैयाँ राजश्व संकलन गरेको थियो। आर्थिक वर्ष ०७५/७६ मा १३ करोड ६७ लाख ८५ हजार ६० रुपैयाँ बढी राजश्व संकलन गरेको उनले बताए।

‘अनलाइन व्यवस्था सुरु भएपछि मालपोतको राजश्व संकलनमा वृद्धि भएको हो’, उनले भने, ‘विगतका आर्थिक वर्षहरूमा ३० लाख भन्दा माथिको मूल्याङ्कनमा लाभकर लाग्ने गरेको र आर्थिक वर्ष ०७५/०७६ मा १० लाखदेखि मात्र लाभकर लाग्ने सरकारको नियम तथा अनलाइन किनबेच गर्नेको सङ्ख्या वृद्धिले हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here