सबैभन्दा ठूलो दुःख खानेपानी भएको गाउँमा घरघरमा धारा पुगेपछि स्थानीयवासीमा खुशी

0
393

खलङ्गा, 

जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल रु ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच पुगेको हो ।

कर्णाली प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु १० लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएको सर्मी ठूली गौरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुनबहादुर कँुवरले जानकारी दिनुभयो ।

कूल १५७ घरधुरी भएको सर्मीमा अहिले घरघरमा बालमैत्री धारा छन् । दुई दशक अघिदेखि जम्मा चार धाराको भरमा बाँच्दै आएका यहाँका बासिन्दा अहिले घरघरमा धारा पुगेपछि खुशी भएका छन् ।विसं २०५८ मा गाउँमा निर्माण गरिएका चारवटा धाराको पनि मर्मत नहुँदा जीर्ण बनिसकेका थिए । “गाउँमा सबैभन्दा ठूलो दुःख पानीकै थियो, अब दुःख टर्ने भयो” अध्यक्ष कँुवरले भन्नुभयो ।

यसपटक मुहानदेखि घरसम्म दीर्घकालसम्म टिकाउ हुनेगरी निर्माण खानेपानी पाइपको विस्तार गरिएको छ । “पहिले अधिकांश समय पानीको जोहो गर्नमै बित्थ्यो । बालबालिका कतिपय दिनमा विद्यालय जानबाट समेत बञ्चित हुने गरेका थिए” अध्यक्ष कँुवरले भन्नुभयो ।

प्रत्येक घरमा धारा पुगिसकेकाले अब गाउँलेकोे जीवनशैली नै परिवर्तन हुने स्थानीयवासीको भनाइ छ । ‘‘आगनमै धारो पुगेपछि अब पानीकै लागि चिन्ता गर्नुपर्ने दिन गए, स्थानीय रामदेवी कुँवरले भन्नुभयो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here